नरेन्द्र ढकाल/गोरखा
असोज २४ गते । बारपाककी ज्ञानु घलेको परिचय फेरिएको छ । सामान्य मजदुरका रुपमा विभिन्न निर्माण कार्यमा संलग्न घले अहिले ठेकेदार बनेकी छिन् । ‘भुकम्प पहिले पनि काम त गरिन्थ्यो, तर लेबरको भएर, अहिले त आफै ठेक्का लिएर काम गर्न थालेको छु’ उनले भनिन् । भूकम्पको केन्द्रबिन्दु बारपाकमा घर बनाउने काम धमाधम चलेपछि उनको व्यस्तता बढेको छ । ‘एउटा घर ठेक्का लिएको थिए त्यसको काम सकियो, अहिले आफ्नै घर बनाउन थालेको छु’ गोरखा समाचारसँगको कुराकानीमा घलेले भनिन् ।
पहिले ढुङ्गा, बालुवा, काठ बोक्ने, माटो मुछ्ने जस्ता सामान्य काम गर्ने गरेकी घलेले भुकम्प प्रतिरोधी घर निर्माणको तालिम लिईन अनि उनमा आत्मविश्वास बढ्यो । ‘केयर नेपाल र एकिकरण नेपालका सरहरुले तालिम दिनुभयो पहिले अरुसँगै मिलेर काम गर्न थाले अनि पछि आफै ठेक्का पनि लिए’ उनले भनिन् । वारपाक जस्तो ग्रामिण ठाउँमा जन्मिएकी घलेले साधारण लेखपढ गर्न मात्र जानेकी छिन । उनले साबिकको बारपाक गाविस वडा नम्बर ६ की कैली घलेको भुकम्प प्रतिरोधी घर निमार्ण गरिदिएकी छिन् ।
३ लाखमा ठेक्का लिएको उक्त घर २ महिनामा पुरा भएको उनले सुनाईन् ‘म समेत ६ जना मिलेर काम गरयौ थालेको २ महिनामा घर तयार भयो ।’ उनले ठेक्का लिएर अन्य ५ जना पुरुष कालिगड र आवश्यक मजुदुरहरु लगाएर कैली घलेको घर बनाईएकी हुन् । घलेका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा मलेशियामा छन् । उनले ३ छोराछारी, १ देवर र सासु ससुरा गरी ७ जनाको परिवार पाल्दै आएकै छिन् । ‘जस्तो मेहनत ग¥यो उस्तै फाईदा हुन्छ, काम गरेर छोरीछोरी पठाएर घर धानेको छु’ घलेले भनिन् । उनले घरको सबै खर्च धाने पछि श्रीमानले विदेशमा कमाएको सबै बचत हुने गरेको छ ।
उनी सँगै यमुना घले पनि घर बनाउने काम गर्छिन् । अहिले बारपाकमा धेरै महिलाहरु घर बनाउने काममा लागेका छन् । पहिले मजुदुर भएर काम गर्नेहरु कालिगड हुँदै ठेकेदार समेत भईसकेका छन् । यमुना पनि कालिगड काम गर्छिन् । ‘मलाई मिस्त्रीले गर्ने सबै काम आउँछ, पहिले त लेभर थिए अहिले मिस्त्री भएको छु’ यमुनाले भनिन् । बारपाकमा हामी पुग्दा उनी पनि स्थानीय धने घलेको घर डिपिसी गर्न मसाला बनाउँदै थिईन् । तालिम लिएका महिलाहरु मजदुर पोसाक सहित हेलमेट लगाएर काममा जाने गर्छन् ।
उनीहरुको काममा सर्बसाधरणले बढि विश्वास गर्ने गर्छन् । ‘छोरा मान्छेले १० तिर काममा हात हाल्छ, समयमा काम गर्दैन्, छोरी मान्छे बरु राम्रो काम गर्छन्, उनीहरुमा बिश्वास बढि हुन्छ’ स्थानीय हस्त बहादुर गुरुङले भने । तालिम लिनु पुर्व धेरैले उनीहरुलाई विश्वास गरेका थिएनन् । ‘हातमा प्रमाण पत्र नहुन्जेल त के गर्लान भन्थे सबले पछि प्रमाण पत्र पनि पाईयो, काम गरेर पनि देखाईयो अनि सबैले बिश्वास गर्न थाले’ यमुनाले भनिन् । ज्ञानु र यमुनाले निर्माण पेशालाई नै अगाडी बढाउने योजना बनाएका छन् । पुरुष कालिगढहरु सँग मिलेर ठुला खालका ठेक्का लिने र उनीहरु सरह काम गर्ने योजना छ ।
बारपाकका पुरुष कालिगढको ज्याला १२ सय रुपयाँ चलेको छ भने महिला कालिगडले ६ सय रुपयाँ पाउँछन् । ‘ज्यालाको बिषयमा हामीले केही भनेका छैनौं, पहिले काम ग¥यो पुरुषहरुले सरह काम गर्न सक्ने भए पनि ज्यालाको कुरा गरौला’ ज्ञानु घलेले भनिन् । शहरी बिकास तथा भवन डिभिजनले तयार बनाएको पाठ्क्रम अनुसार केयर नेपालको आर्थिक सहयोगमा एकिकरण नेपालले सात दिने डकर्मी/सिकर्मी तालिम दिए पछि त्यहाँका झण्डै १ दर्जन महिलाहरुले पुरुष सरह कालिगढको काम गरिरहेको एकिकरण नेपालका कार्यकारी निर्देशक हरी देवकोटाले बताए । ‘हामीले ७ दिनको तालिम दिए पछि उहाँहरुले अहिले धमाधम घर बनाईरहनु भएको छ’ उनले भने ।
एकिकरणले बारपाकका पुरुष र महिला गरी ५८ जनालाई सिकर्मी डकर्मी तालिम दिएको छ ।




















