मोहसिन अलि मिया/गोरखा
देशको संवृद्धीका निम्ति अब स्थिर सरकार हुनुपर्ने नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताएका छन् । पालुंटारमा पत्रकारहरुसंग कुरा गर्दै डाक्टर भट्टराईले आगामी चुनाव जसरी पनि सफल बनाउनु पर्ने र त्यसपश्चात बन्ने स्थिर सरकारले मात्रै देशको विकास र संवृद्धि गर्ने बताएका हुन् ।
केही दिनअघि भएको बाम एकता त्यसैको सुरुवातका लागि भएको उनको दावी छ । ‘हामी बिचारका हिसावले नजिक भएका दलसंग गठबन्धन गर्ने र सम्भव भएसम्म एकता नै गर्ने गरि अघि बढेका छौ यसलाई सबैले सकरात्मक हिसावले लिनुपर्ने हुन्छ’ डाक्टर भट्टराईले भने ।
बाम एकता नयाँ शक्ति निर्माणको नयाँ अभियान भएको बताउदै डा भट्टराईले गठबन्धनमा सामेल दलहरु नयाँ ढंगबाट जान सहमत भएकाले एकता सम्भव भएको बताएका छन् । चुनाव पछि एकता भइ बन्ने पार्टीको नाम पनि नयाँ रहने समेत उनको भनाई छ । ‘अब हामी सबै दल नयाँ ढंगबाट जान तयार भयौ, अब पार्टीको नाम एमाले, माओवादी, नयाँ शक्ति भन्ने हुदैन, नयाँ नाम राखेर नयाँ ढंगबाट हामी अघि बढ्ने सहमती भएको छ’
गठबन्धन बिच चुनावी तालमेल संगै सम्भव भएसम्म एउटै चुनावी चिन्ह लिएर चुनावमा जाने डाक्टर भट्टराईको भनाई छ । यसले लोकतन्त्रको संवृद्धि गर्ने बताउदै उनले गठबन्धन समाजवादी लोकतन्त्रको पक्षमा रहेको बताएका छन् ।
आगामी निर्वाचनमा आफु गोरखा क्षेत्र नम्बर २ बाट उठ्ने समेत उनले बताएका छन् । बाम गठबन्धन आकस्मिक नभई लामो तयारी बाट निर्माण भएको र अब यसले दुई तिहाई बहुमत ल्याएर आर्थिक विकासमा उनले दावी गरेका छन् ।




















