- साँझपख पनि बस सञ्चालन गर्न कार्यदलको सुझाव
कैलासबावु श्रेष्ठ/गोरखा
असोज १० गते । गोरखा जिल्लाको विभिन्न कच्ची सडकमा यात्रुबाहक बसहरु चल्दै आएको भएता पनि रुट परमिटका कारण धेरै भाडा असुल्ने कामलाई सरकारले अंकुश लगाएको छ । जिल्ला स्तरबाट नै अस्थायी परमिट दिन मिल्ने प्रावधान पछि अहिले गोरखाको ९ सडकले अस्थायी परमिट पाए संगै भाडा दर समेत तोकिदिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माको नेतृत्वमा बनेको कार्यदलले अस्थायी परमिट पाउने सडकको यंकिन गरी परमिट दिन यातायात ब्यवस्था कार्यालयलाई सिफारीस गरेको छ भने सोही कार्यदलले उत्त सडकमा चल्ने सवारी साधानको भाडा दर समेत तोकिदिएको हो ।
कार्यदलले गोरखा बजार देखी छोप्राक हुदै भच्चेक सम्मको भाडाँ २ शय ५५ रुपैयाँ तोकिदिएको छ भने गोरखा बजार देखी ठाँटीपोखरी सम्मको २८ किलोमिटर सडकको लागि १ सय रुपैयाँ भाडा दर कायम गरेको छ । यता पर्यटकीय गाउँ वारपाक सम्मको यात्रा गर्नेलाई ३ शय १० रुपैयाँका साथै ताकुकोटका लागि १ शय ६० रुपैया भाडाँ निर्धारण गरीदिएको कार्यदलका संयोजक शर्माले बताए ।
यस्तै गरी गोरखा बजार देखी उत्तरको पहिलो ब्यापारीक नाका आरुघाट हुँदै आर्खेतसम्मको २ शय ५५ र गोरखा देखी घैरुङ बतासेको १ शय १५ तथा सिउरेनी टारबाट आर्खेतसम्मको भाडा २ शय ७० रुपैया कायम गरिदिएको छ ।
धार्मिक तिर्थ स्थलका रुपमा ख्याती कमाएको स्याउली देखि मनकामना सम्मको १५ किलोमिटर सडकको भाडा ८० रुपैयाँ तोकिएको छ । कार्यदलका संयोजक रहेका शर्माले जिल्लाको अन्य सडकहरुको पनि अध्ययन भै रहेकोले अन्य सडकहरुमा पनि अस्थायी परमिट दिन आवश्यक परेको खण्डमा दिन सकिने बताए ।
कार्यदलले ग्रामीण क्षेत्रमा यात्रुको चाप अनुसार सवारी साधनको संख्या तत्कालै बढाउन, छतमा यात्रु चढाएर यात्रा नगराउन, सार्वजनिक सवारी साधनमा ब्यापारिक प्रयोजनका सामान बोक्न समेत भनेको सुझाब दिएको छ । कार्यदलले गन्तब्यका लागि छुटेका सवारी साधानहरु विभिन्न स्थानमा यात्रुको प्रतिक्षा गर्दै लामो समय रोकिराख्ने प्रवृत्ति तत्कालै अन्य गर्नुपर्ने समेत सुझाब दिएको छ ।
साँझ पखलाई यातायातको ब्यवस्था मिलाउन सुझाव
लामो समय पछि मात्रै अस्थायी परमिटका दिएको कार्यदलले गोरखा बजार भएर तनहुँको आँबुखैरेनी सम्म पुग्ने र आँबुखैरेनी देखी गोरखा बजार सम्म आउने साँझ पखको सवारी साधनको उचित ब्यवस्थापन गर्न समेत सुझाव दिएको छ ।
जिल्लामा यातायात ब्यवसायी समिति गोरखा र पृथ्वि राजमार्ग बस ब्यवसायी समितिले गोरखा वजारबाट साँझ ७ वजे खैरेनी र खैरेनीबाट साँझ साढे ७ वजे गोरखातर्फ बस चलाउने ब्यवस्था मिलाउनु पर्ने कार्यदलले सुझाव दिएको संयोजक शर्माले बताए । कार्यदलले गोरखा बजारको ट्राफिक ब्यवस्थापनमा समेत गंभिर भएर ध्यान दिन संम्वन्धीत निकायलाई सुझाव दिएको छ ।




















