मोहसिन अलि मियाँ/गोरखा
असोज ९ गते । दशैँ लागेसंगै जिल्लामा यातायात ब्यवसायीहरु कमाउ धन्दामा लागेको भन्दै सर्वसाधारणको गुनासो बढ्न थालेको छ । दशै मनाउन घर हिडेका सर्वसाधारण तेब्बर भन्दा बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । सडक जिर्ण भएको कारण देखाउँदै सदरमुकाम देखि जिल्लाका आरुघाट, भच्चेक, घ्याम्पेशाल, बोर्लाङ, सिमजुङ, नामजुङ, बक्राङ, देउराली लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बिशेष गरेर गोरखा बजारबाट छुट्ने कच्चि सडकहरुमा गुड्ने बसहरुले मनपरि भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
अन्य समय भन्दा अहिले बसहरुले यात्रुसंग चार गुणासम्म बढि भाडा लिइएको पाइएको छ । ‘अरु बेला ७५ रुपैया भाडा थियो, आज ३ सय तिर्नु प¥यो’ अश्राङकी रिना थापाले भनिन् । यातायात ब्यवसायीले भने जति भाडा नतिर्नेलाई बसमा चढ्नै नदिने गरेको यात्रुहरुको गुनासो छ ।
‘बस चढ्ने बेलामै भाडा ३ सय तिर्ने भए चढ हैन भने हिडेर जाउ भनेर भने, हिडेर जान सम्भव नै छैन, के गर्ने ३ सय नै तिरेर आइयो’ अश्राङकी रिनाले भनिन । दिनभर हरमटारीको बसपार्कमा बस कुरिरहेका आरुघाटका दिलमान श्रेष्ठको पनि दुखेसो उस्तै छ । ‘बिहानबाट गाडी कुरेको, एक त गाडी नै पाउन गाह्रो छ, पाइहालियो भने पनि ढोका मै भाडाको बार्गेनिङ गर्छन्’ आरुघाटका श्रेष्ठले भने ।
वास्तविक भाडाभन्दा धेरै गुणा भाडा लिने गरेको गुनासो बढेपनि प्रशासन भने मौन देखिन्छ । केही दिन अघि मात्र जिल्ला यातायात ब्यवस्थापन समितीको बैठकले जिल्लाको बिभिन्न रुटको भाडा घटाउने निर्णय गरेको भएतापनि कार्यान्वयनमा नदेखिएको सर्वसाधारणको गुनासो छ । ‘प्रशासनले भाडा घटायो भन्ने सुनेको थिए, अहिले त घट्ने कुरा काँ हो काँ, सय लाग्ने ठाँउमा ५ सय लाग्न थालेको छ’ एक यात्रुले भने ।
यता भाडामा मनोमानी संगै बसले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको समेत पाइएको छ । जिल्लाका अधिकांश कच्चि सडक बर्षातले जिर्ण बनेको छ । तर हालसम्म पनि अधिकांश सडक मर्मत नहुदा दशैमा घर जान हिडेका यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
‘बाटो बिग्रेको छ, बसपार्कमा यात्रु अलपत्र छन्, सबै बस गुडेका छैनन, अनि कोचेर भनेपनि लानै पर्ने बाध्यता छ’ एक यातायात ब्यवसायीले भने । करिब एक महिना अघि जिल्ला समन्वय समितीले जिल्लाका सबै कच्चि सडक दशै अघि नै मर्मत गरिसक्ने निर्णय गरेको भएता पनि हालसम्म भने अधिकांश सडकको हाल उस्तै छ । समयमै सडक मर्मत नहुदा दशैमा घर आउनेलाई भने निक्कै समस्या भएको बताएका छन् ।




















