गोरखा समाचार
असोज ८ गते । राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजनाको काम प्रभावकारी नभएको भन्दै प्रभावितहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा उर्जा मन्त्रालयमा पत्र मार्फत ध्यानाकर्षण गराईएको समितिका संयोजक हरेराम ढकालले जानकारी दिए ।
उक्त पत्रमा आयोजनाको अन्यौलता हटाएर यथाशिघ्र काम सुरु गर्न माग गरिएको छ । संयोजक ढकालद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उर्जा मन्त्रालय, उर्जा सचिव, आयोजनाको ईकाइ, गोरखा र धादिङको जिल्ला प्रशासन कार्यालय,दुबै जिल्लाका नापी तथा मालपोत कार्यालय र दुबै जिल्लाका सबै सांसदहरुलाई बोधार्थ पठाईएको समितिले बताएको छ ।
बाँकी स्थानको एकै पटक मुआब्जा बितरण गरिनु पर्ने, आरुघाट र खहरेको मुआब्जा निर्धारण गरिनुपर्ने, मुआब्जा निर्धारण समितिले २०७३ मंसिरमा पारितका लागि मन्त्रिपरिषदमा पठाएको १७ वटा बुँदा निर्वाचन अगाडी नै पारित गरिनु पर्ने, जमिन सँगै घर गोठ, बोट बिरुवा सबैको मुआब्जा एकै पटक दिनुपर्ने लगायतको माग राखिएको छ । आयोजना निर्माणको काममा आलटाल हुँदा उनीहरुले अन्यौलमा बस्नु परेको भन्दै प्रभावितको पिडालाई ध्यानमा राखेर काम गर्न आग्रह गरिएको छ ।


