- जिल्लाबाट बाहिरीने नाकामा प्रहरी परिचालन
कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा रहेको ३ जना बन्दी शुक्रबार राती बेपत्ता भएका छन । वेपत्ता बन्दीहरुको प्रहरीले ब्यापक रुपमा खोजी गरेको छ ।
चोरी, लागु औषध जस्ता अपराध गरेको आरोपमा पक्राउ परेका गोरखा नगरपालिका ६ का दिपेश मजकोटी, भिमसेन गाउँपालिका ३ तान्द्राङ्गका अभिषेक अधिकारी र सन्दिप सुर्खेती बेपत्ता भएका हुन ।
प्रहरीको थुनुवा कक्षमा रहेका ३ जना बन्दी शौचालयको भ्यान्टीलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिएँ । ‘थुनुवा कक्ष संगै रहेको शौचालयको भ्यान्टीलेसनको ग्रिल निकालेर कार्यालयको पछाडी भागबाट भागेको हो अनुमान गरेका छौ । राती १२ः४५ बजे बन्दी चेक गर्ने क्रममा उनीहरु भागेको पुष्टी भएको’ प्रनाउ रिजालले बताए ।
सार्वजनिक मुद्वा दर्ता गरीका मजकोटीलाई भाद्र १८ गते म्याद थप गरी अनुसन्धान भै रहेको थियो भने अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई असोज ६ गते मात्रै म्याद थप गरी अनुसन्धानको काम भै रहेको थियो ।
राती देखी नै फरार बन्दीको खोजी कार्यलाई तिब्र पारीएको छ भने गोरखा जिल्ला भै बाहिर जाने सबै नाकामा प्रहरी परिचालन गरीएको छ । फरार रहेको बन्दीहरुको घरमा समेत प्रहरी बिहानै पुगेर थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


