, आश्विन
आश्विन ६, २०७४-उत्तरी क्षेत्रको सीमाअवलोकनको बहाना बनाएर प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका ३ सुरक्षा प्रमुख पद्धति नामक गैरसकारी संस्थाले चार्टर गरेको हेलिकप्टर चढेर भ्रमणमा निस्केका छन् ।
प्रमुख जिल्ला अधिकारी एनजिओको कार्यक्रममा सहभागी नहुने गृह मन्त्रालयको निर्देशन र निर्वाचन आचार संहिता समेत उल्लंघन गरेर उनीहरु शुक्रबार बिहान सदरमुकामबाट त्यसतर्फ हेलिकप्टरमा उडेका हुन् । उनीहरुलाई कार्यक्रममा सहभागी गराउन पद्धतिले काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर एक लाख भन्दा बढी खर्च गरेर चार्टर गरेको छ ।
सीमाअवलोकन भनिएपनि प्रजिअ जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक प्रकाश अधिकारी र राष्ट्रिय अनुसन्धानका डिएसपी रजनि घिमिरे एनजिओकोका कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । उनीहरुले चुमनुब्री गाउँपालिकास्थित सामागाउँमा पद्धतिले गरेका गतिविधि निरीक्षण, उद्घाटन र शिलान्यास समेत गर्ने कार्यक्रम छ । उनीहरुसँगै पत्रकार महासंघ गोरखाका अध्यक्ष र दुई जना गैससकर्मी समेत सहभागी छन् ।
जिल्लामा सबैभन्दा विवादित सिआरएस नामक आईएनजिओको सहकार्यमा पद्धतिले सुरक्षा प्रमुखहरुलाई तीन दिनको लागि त्यसतर्फ लगेको हो । सिआरएस विवादस्पद गतिविधिका कारण पटक/पटक आलोचित हुँदै आएको छ । उनीहरुको खाने बस्ने व्यवस्था समेत उक्त एनजिओले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान सदरमुकाममा गरेको ‘प्रहरी टोलटोलमा अभियान, शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम समेत बिचैमा छाडेर सुरक्षा प्रमुखहरु एनजिओ सँग हिडेका हुन् । आतिथ्यता गरेको बस्नेत, अधिकारी र घिमिरे बीचैमा कार्यक्रम छाडेर हिँडेपछि कार्यक्रम प्रभावित भएको थियो । प्रजिअ बस्नेतले सहायक प्रजिअ केशव शर्मा र एसपी अधिकारीले प्रहरी नायव उपरीक्षक भेषराज रिजाललाई कार्यक्रमको जिम्मा लगाएका थिए ।
बिहीबार नै उनीहरु त्यसतर्फ जाने कार्यक्रम थियो । मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेन । शुक्रबार बिहान आफ्नै कार्यक्रम र कार्यलयको कामको समेत वेवास्ता गर्दै उनीहरु गएको सुरक्षा निकायका अन्य कर्मचारीले गुनासो गरे ।
‘दसैंको बेला बजार अनुगमन देखि शान्ति सुरक्षाका अन्य थुप्रै काम गर्नुपर्ने छ, सरहरु जानु भयो,’ एक अधिकारीले भने । सुरक्षा प्रमुखहरु एनजिओको कार्यक्रममा सहभागी हुन गएको पद्धितकी निर्देशक कमला लामिछानेले पुष्टि गरिन् ।
‘जीविकोपार्जन, सरसफाई लगायतका कार्यक्रम हेर्ने कार्यक्रम छ’, उनले भनिन् । प्रजिअ बस्नेतले सीमा अवलोकनका लागि गएको दाबी गरे । ‘मुख्य उद्देश्य सीमा अवलोकन हो, गई सकेपछि विकास निर्माणको काम पनि अनुगमन गर्छौं ।’ भ्रमणलाई सकारात्मक रुपमा बुझिदिन उनले आग्रह समेत गरे । उनीहरु तीन दिनसम्म एनजिओको गतिविधिमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
ekantipur


