नरेन्द्र ढकाल/गोरखा
असोज ३ गते । हरेक वर्ष हुँदै आएकोे ऐतिहासिक लिगलिगे दौड यस वर्ष पनि हुने भएको छ । विजयादशमीको अवसरमा हुने दौड अन्तिम तयारी भईरहेको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले बताए । ‘यस वर्ष पनि हामीले दौड गर्न लागेका छौ, लिगलिगकोटको पहिचान जोगाउँदै,खेलकुदको पनि विकास गर्ने उदेश्यले दौड आयोजना गरिएको हो’ उनले भने ।यस वर्षको दौड असोज ९ गते हुने भएको छ ।
दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा पचास हजार पाँच सय पाँच रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३० हजार तीन सय पाँच, तेस्रो हुनेलाई २० हजार दुई सय पाँच, चौँथोलाई दश हजार एक सय पाँच, पाँचौँ हुनेलाई पाँच हजार पाँच, छैटो ४ हजार हजार पाँच, सातौँ हुनेलाई ३ हजार पाँच, आठौं २ हजार पाँच रुपैयाँ नगद पुरस्कारको साथमा मेडल प्रमाण पत्र पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष रानाले बताए ।
बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको दौड स्थानिय युवाहरुको पहलमा हरेक वर्ष सञ्चालन हुदै आएको छ । यसै गरी महिलाहरु खुल्ला ५ किलो मिटरको दौड पनि आयोजना गरिएको छ । बडडाँडा बाट लिगलिकोटको मुलगडी सम्म हुने उक्त दौडमा पहिलो हुनेले १५ हजार ५,दोश्रो हुनेले १० हजार ५ र तेश्रो ५ हजार ५ रुपयाँ मेडल प्रमाणपत्र रट्रफि पुरस्कार पाउने छन् । यसै गरी लिगलिगबासी स्थानियको पनि छुट्टै प्रतियोगिता हुने भएको छ । जसअनुसार पहिलो हुने १५ हजार ५,दोश्रो हुनेले १० हजार ५ र तेश्रो ५ हजार ५ रुपयाँ मेडल प्रमाणपत्र प्रदान गरिएने अयोजकले जानकारी दिएको छ ।
चेपे र मस्र्यादी नदिको दोभान चेपेघाट बाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै नेपालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटको कोटगढीमा पुगेर सकिने आयोजकले बताएका छन् । १३ दशमलब ८ किलोमिटरको सो दौड पुरा गरेर जो पहिले पुग्छ उसले पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहिरिने रानाले बताए । यसैगरी महिलाहरुको खुल्ला र लिगलिगबासीहरुको लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि गरिने छ ।
लिगलिगकोट र आसपासको क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि लोपहुने अवस्थामा पुगेको लिगलिगे दौड पुन सुरु गरिएको बिकास अभियानका अध्यक्ष रानाले बताए । यो दौड ओलम्पियन हरि रिमाल र अनिष थापामगरले २–२ पल्ट जितेका छन् । प्रतियोगितमा सहभागी हुन चाहने अशोज ५ गते सम्म नाम दर्ता गराई सक्नु पर्नेछ ।



