नरेन्द्र ढकाल/गोरखा
असोज १ गते । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले गाउँ तथा नगरपालिकामा खटिएका कर्म चारीको हाजिर प्रमाणित गरेर मात्र तबल दिन निर्देशन दिएका छन् । गोरखाको अवस्था बारे बुझ्न आएका उनले पत्रकार भेटघाट मार्फत उक्त निर्देशन गरिएको बताए । ‘स्थानीय तहका प्रमुख एवं कार्यकारीबाट हाजिर प्रमाणीत गराएर मात्र उहाँहरुलाई तलब दिनुस्, खटिएको ठाउँमा नजाने कर्मचारीलाई तलब दिन आवश्यक छैन्’ अर्यालले भने ।
गोरखाको स्थानीय तहमा चुलिएको कर्मचारी विवाद प्रति लक्षीत गर्दै उनले स्थानीय तहमा खटिएर पनि नजाने कर्मचारीहरुलाई कारवाही गर्ने सम्मको चेतावनी दिएका हुन् । ‘स्थानीय तहको कर्मचारी व्यवस्थापन निकै पेचिलो विषय हो, त्यहाँ खटिनु भएका साथीहरुलाई गएर काम गर्न म निर्देशन दिन्छु’ अर्यालले भने ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको कर्मचारी व्यवस्थापन समितिले जिल्लाको अवस्था हेरेर हाल मौदात कर्म चारीहरुलाई व्यवस्थापन गर्ने तर खटिएका कर्मचारीले गएर काम नगरे तलब नदिने उनले बताए । लामो समय अर्थ मन्त्रालय र योजना आयोगमा समेत काम गरेका अर्यालले स्थानीय तहलाई आर्थिक केन्द्रका रुपमा लिनु पर्ने बताए । थुप्रै सम्भावनाहरु रहेकाले अहिलेको संक्रमण कालाई आधार मानेर स्थानीय तहको गलत व्याख्या गर्न नहुने उनको भनाई छ । ‘अनगिन्ती समस्या छन्, कानूनका समस्या छन्, जनशक्तिका समस्या छन्, तर अहिले यी समस्या रहे पनि स्थानीय तह आर्थिक केन्द्र हुन्, त्यसलाई आधार मानेर काम गर्नु पर्छ’ अर्यालले भने ।
स्याङ्जा, म्याग्दी, पर्वत, बाग्लुङ पछि गोरखा आएका उनले सबै जिल्लाको भ्रमण गरेर बस्तुगत अवस्था बुझेर नयाँ कामको थालनी गर्न लागेको बताए । ‘जिल्लाको अवस्थाबारे कर्म चारी, जनप्रतिनीधि र राजनीतिक दल सँग धेरै विषयमा छलफल भयो’ उनले भने ।
आसन्न निर्वाचनलाई लक्षीत गर्दै उनले विशेष सुरक्षा योजना बनाएर अघि बढ्ने बताए । स्थानीय निर्वाचन र त्यस अघिका निर्वाचनलाई आधार बनाएर थप प्रभावकारी सुरक्षा व्यवस्था निर्माण गर्ने उनको दाबी छ । ‘हामी निर्वाचन कै तयारीमा छौ, विगतका निर्वाचनलाई हेरेर आसन्न निर्वाचन थप सुदृढ बनाउने हाम्रो योजना छ’ अर्यालले भने । स्थानीय निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै उनले सञ्चारकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए ।
आसन्न प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन, जिल्लाको शान्ति सुरक्षा, भुकम्प पछिको पुर्ननिर्माण, स्थानीय तह निर्वाचन पछि सिर्जना भएका विभिन्न समस्याहरुका बारेमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधीहरुलाई छुट्टाछुट्टै निर्देशन समेत दिएका छन् । चाडपर्वको समय भएको र निर्वाचन पनि नजिकिदै गरेकाले जिल्लाको शान्ती सुरक्षाको व्यवस्था थप प्रभाव कारी बनाउन उनले जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई आदेश दिएका छन् । सरकारी कार्यालयले दिने सेवालाई चुस्त दुरुस्त राख्दै जनताको सेवामा जुट्न कायालय प्रमुखहरु र जनप्रतिनिधिहरुलाई पनि उनले आग्रह गरेको छ ।


