मोहसिन अलिमियाँ/गोरखा
भाद्र ३० गते । आगोले जलेकी चमेली परियारको उपचार हुने भएको छ । जिल्ला स्थित बिभिन्न सामाजिक संस्था तथा ब्यक्तिहरुको पहलमा उनको उपचारार्थ आर्थिक संकलन भएपछि उनलाई उपचारका लागि काठमाण्डौ लगिने भएको हो ।
भाद्र २८ गतेको गोरखा समाचार दैनिकमा उनको अबस्थाका बारेमा ‘आगोले जलेकी महिलाको आर्थिक अभावका कारण उपचार हुन सकेन’ भन्ने समाचार प्रकाशित भएपछि जिल्लाका बिभिन्न संघसंस्था र ब्यक्तिले उनको उपचारका बिषयमा चासो देखाएका थिए । साउन २५ गते आफैले बालेको टुकीबाट आगो सल्केर जिउ र घाँटीमा गहिरो चोट लागेकी चमेलीको जिल्लामा उपचार सम्भव नभएको अस्पतालले जनाएको थियो । तर आर्थिक अभावका कारण उपचारका लागि काठमाण्डौ जान नसकेकी उनको उपचारमा सहयोग रकम जुटेको छ ।
जिल्ला स्थित क्रियाशिल लायन्स क्लब अफ गोरखा कालिका, शक्तिचोक टोल विकास संस्था, बसपार्क टोल विकास संस्था, बसपार्क महिला समुुह, मास्के छोरी बुहारी समुह र कालिमाटी टोल विकास संस्था महिला उपसमितीले संयुक्त रुपमा गोरखा बजारमा आर्थिक संकलन गरेको छ । उजेलीको उपचारका लागि संकलन भएको ६० हजार २ सय ५० रुपैया बिहिबार नै उनलाई हस्तान्त्रण गरिएको हो ।
लायन्स गोरखा कालिकाकी अध्यक्ष देबु मास्के, बसपार्क टोल विकास संस्थाकी उपाध्यक्ष शान्ती श्रेष्ठ, मास्के छोरी बुहारी समुहकी अध्यक्ष विद्या मास्के र कालिकाटी टोल सुधार संस्थाकी लक्ष्मी श्रेष्ठले चमेलीलाई गोरखा अस्पतालमै पुगेर रकम हस्तान्त्रण गरेका हुन् । रकम हस्तान्त्रण गर्दै उनिहरुले काठमाण्डौमा गई राम्रो अस्पतालमा उपचार गराउन समेत उनलाई सल्लाह दिएका छन् । हस्तान्त्रण कार्यक्रममा शहिद लखन गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, ८ का वडा अध्यक्ष काशिनाथ अम्गाईको समेत उपस्थिती रहेको थियो ।
साथै उनको उपचारार्थ गोरखा नगरपालिका वडा नम्बर ८ कि गोमा दुवाडीले समेत आर्थिक सहयोग गरेकी छिन् । बिहिबार अस्पताल पुगेर दुवाडीले उनलाई नगद ३ हजार हस्तान्त्रण गरेकी हुन् । सात महिने दुधे बालक कोखमा चेपेर गोरखा अस्पतालको शैयामा छटपटाइरहेकी चमेलीको स्वास्थ्य बिमाको समेत सम्पूर्ण प्रवन्ध मिलिसकेको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताएका छन् ।
उजेलीको स्वास्थ्य बिमा र गोरखा देखि काठमाण्डौसम्म जान लाग्ने रकम शहिद लखन गाँउपालिका वडा नम्बर ८ ले ब्यहोर्ने वडा अध्यक्ष अम्गाईको भनाई छ । उनलाई आज काठमाण्डौ लैजाने ब्यवस्था मिलाईएको समेत उनले बताएका छन् ।


