कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २४ गते । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला
शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स २०७३ को तयारीको पुरा भएको छ । संघले शुक्रकार पत्रकार सम्मेलन गर्दै चैत्र २५ र २६ गते राष्ट्रिय खेलकुद परिषदस्थित कभर्ड हलमा हुने प्रतियोगिताको अन्तिम तयारी भएको जानकारी दिएको हो ।
छैठौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूह अन्तर्गत खेलाइने छ । जसमा ५५,६०, ६५, ७०, ७५, तथा ७५ के.जी. तौल भन्दा माथिको समूह विच प्रतिस्पर्धा गराइने छ ।
संघकै आयोजनामा प्रथम पटक शारीरिक सुगठन प्रतियोगिताको विधा अन्तर्गत पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स खुल्ला उचाई समूह अन्तर्गत प्रतियोगिता आयोजना हुन लागेको हो । शारीरिक सुगठन प्रतियोगितामा एउटा क्लब, संघ, संस्थाबाट एउटा वजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १२ जना खेलाडीहरु र १ जना टीम मेनेजरले प्रतियोगितामा भाग लिन तथा टीमको प्रतिनिधित्व गर्न पाउने छ । यस प्रतियोगितामा नेपाल भरिका विभिन्न क्लब तथा संघ संस्थाबाट करीब १ सयजना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन चैत्र २५ गते प्रि–जजि राउण्ड अन्तर्गत प्रत्येक समूहबाट जम्मा ५ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डकोलागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाण पत्रले सम्मानित गरिने छ । चौथो तथा पांचौहुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछ । प्रत्येक वजन समूहमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः २५ हजार , १५ हजार र १० हजार नगद प्रदान गरिने छ ।
शारीरिक सुगठनको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडिहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई “मिष्टर हिमालय“ को उपाधि साथै नगद २ लाख ५० हजार पुरस्कार, ट्रफि र व्यानेटले सुसज्जित गरिने छ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु २ लाख ७५ हजार प्राप्त गर्नेछ । यस भन्दा अगाडीको संस्करणमा ओभरअल विजेतालाई २ लाख नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा १७ लाख खर्च हुने अनुमान गरीएको छ ।


