तस्वीर: शेखर चाैलागार्इं
काठमाडौं, पुस १२ गते । राजधानीको ब्यस्त ब्यापारिक क्षेत्र असन– इन्द्रचोकबाट हनुमानढोका जाने मार्ग मखनगल्लीमा रहेको कपडा गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। सडक नजिकै रहेको चार तले घरको तेस्रो तलामा रहेको ‘लेडिज’ कपडा पसलको गोदाममा आगलागी भएको हो। आगलागीबाट करिव एक करोड रुपियाँको क्षति भएको जनाइएको छ।
आगलागी भएको गोदाम सोही घरको भुईतलामा रहेको बी फेमस चेलीवेटी पसलको हो। पसल सञ्चालक प्रकाश श्रेष्ठका अनुसार आगो कसरी लाग्यो अझै चाल पाउन सकिएको छैन। लेडिज कपडा साडी, धोती, कुर्ता र लेहेँगा लगायतका कपडामा क्षति पुगेको छ। घरको पहिलो र दोस्रो तलामा पसल तथा शो–रुम, तेस्रो र चौथो तलामा गोदाम थियो। पसलमा हिटर, वत्ती बाल्नुका साथै मोवाइल चार्जको ब्यवस्था छ उहाँले भन्नुभयो, तर, गोदाममा त्यस्तो केही सुविधा छैन तर पनि कसरी आगो लाग्यो पत्तै पाइएन।
दिउँसो दुई बजेतिर एक्कासी झ्यालबाट धुँवाको मुस्लो निस्केपछि आगलागी भएको थाहा भएको थियो। महानगरीय प्रहरी बृत जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले स्थानीयवासीको सक्रियतामा आगो आधा घण्टामा नै नियन्त्रणमा आएको जानकारी दिनुभयो ।

आगो नियन्त्रणमा सेना, प्रहरी र सशस्त्र प्रहरीसँगै काठमाडौं महानगरपालिकाको तीनवटा दमकल र स्थानीय क्लवहरु परिचालन भएका थिए। घरधनी निरज सिघ्राकारले बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने बताउनुभयो। प्रहरीले आगलागी सडक नजिकैको घरमा भएकाले ठूलो क्षति हुनबाट जोगिएको जनाएको छ। सो घरसँगै जोडिएका अन्य घरहरु पुराना र काठले बनाइएका छन्।
यसैबीच, मंगलबार ताप्लेजुङ, उदयपुर, काभ्रे र रुपन्देहीमा पनि आगलागीको घटना भएका छन् । ताप्लेजुङको खोक्लिङ गाविसमा रहेको सन्तोष साम्मेखामाको घरमा आगलागी हुँदा ८० हजार रुपियाँ नगद र छ लाख मूल्य वराबरको सम्पत्ति जलेर क्षति भएको छ। रुपन्देहीको रुद्रपुरमा धनबहादुर थापाको घरमा आगलागी हुँदा दुई लाख ५० हजार रुपियाँ मूल्यको क्षति भएको छ।
त्यस्तैं, उदयपुरको रिस्कीस्थित सूर्यबहादुर राईको कुखुरा फर्ममा आगलागी हुँदा कुखुरा जलेर १५ लाखको क्षति भएको छ भने काभ्रेको पिपलवोट नजिकै नमोवुद्ध स्कुलको बा १ ख ६४६५ मा अचानक आगलागी भएको छ ।


gorkhapatraonline


