युरोपेली मुलुकहरू युक्रेन र हंगेरीबाट महिनौं लगाएर ल्याइने तोरीगेडा काठमाडौं उपत्यका भित्रिसकेको हुँदैन, यसको नामकरण भइहाल्छ– देशदुनियाँ तान्ने गरी ‘खोकनाको तेल’ ।
पुस ९, २०७३- काठमाडौं खाल्डो दक्षिणको सानो–सुन्दर बस्ती खोकनाको एउटै नामकामले देशदुनियाँमा चर्को ख्याति बनाएको छ— त्यो हो तोरीको तेल ।
यही ख्यातिले भरिएको खोकनाको दोबाटोमा बुधबार बिहान ९० वर्षीय ज्ञानलाल महर्जन (तल तस्बिर) भेटिए जो सेताम्मे फुलेका दाह्रीजुँगाको ओजमा सुनाउँदै थिए— खोकनाको धूलो माटोले मलाई राम्ररी चिनेको छ ।
खोकना बस्तीमा धूलो माटो छँदैको कुरा हो । (ज्ञानलाल आजको कंक्रिट–जंगलको विकासबारे उति जानकार थिएनन् ।) उसबेला ज्ञानलाल आफ्नै खेतबारीमा उब्जेको अनाज र त्यसमा पनि तोरी–सरस्युँका भरमा दुई/चार पैसा कमाउन काठमाडौं सहरसम्म निस्कन्थे । कहिलेकाहीँ चित्लाङ (मकवानपुर) सम्म पुगेर तोरी किनेर फर्कने र खोकनामा ल्याएर हाते कोलमा पेल्दै तोरी–तेलको ‘बार्टर’ गर्नुमा ज्ञानलाल रमाउँथे । किनभने सिंगो खोकनाको दिनचर्या नै त्यही थियो ।
‘म उबेला खोकनाबाट छाउनी अथवा कालिमाटीसम्म पुग्थ्यो, नेता जोगमेहर श्रेष्ठकहाँ तेल पुर्याउन जान्थ्यो,’ ज्ञानलाल सम्झिरहेका छन्, ‘अहिलेको त कुरै अर्को, कुरै चर्को । बरु कुरै नगरौं ।’
काठमाडौं उपत्यका वरपरको काँठ र बस्तीबाटै तोरी ओसारेर खोकनामा तेल पेल्ने गरिएको अस्ति भर्खरैको बाबुबाजेको दिनचर्याबारे खोकना–३ का कान्छा महर्जन पनि जानकार छन् । ‘हाम्रा बा–बाजेहरू चापागाउँ, लेले, दक्षिणकाली, थाखेल, थानकोट, भीमफेदीसम्म पुगेर तेलमा तोरी साटेर ल्याउने गर्थे, तेल पेल्दा आएको पिना भने खुद नाफा हुन्थ्यो, ‘घर–आँगनमा सामुदायिक हैसियतमा बनाइएको गाबु ज्या:सा तेल मिलका प्रबन्धकसमेत रहेका कान्छाले सुनाए । यो सहकारी मिलमा अहिले स्थानीय १ सय ४४ सदस्य छन् ।
कुनै जमाना थियो । नेवारी विधिमा भर्खरै ‘तेस्रो जङ्को’ गरेका ज्ञानलाललाई काठमाडौं सहर पुगेर फर्कंदा भैंसेपाटीको उकालो छिचोलेर ओरालो तेर्सनासाथै आफ्नो गाउँको ‘हरक’ नाकमा आइपुगेको आभास हुन्थ्यो । गल्लीपिच्छे कोलबाट तोरीतेल निचोरिंदै गरेको र त्यहाँबाट उब्जेको तेल–खारका कारण सिंगो गाउँ वासनामय हुन्थ्यो । ‘अहिले भने यही तोरीमिलकै छेउछाउ टहल्यो भने मात्रै तेलको खार थाहा पाउन सकिन्छ,’ उनले सुनाए ।
समयमा आएको बदलाव र तोरीदेखि तिलसम्म जोडिएको ग्लोबल बजारको साइनोको बारेमा धेरै कुरा ज्ञानलाललाई पत्तो छैन । बरु, हरेक दिन गाबु ज्या:सा तेलमिलकै आडमा बसेर तोरीतेलको हरक लिंदै घाम ताप्नैमा उनी आनन्दित बन्ने गरेका छन् ।
‘तपाईंले नेपाली तोरी खोज्नुभएको हो ? नेपाली तोरी त वर्षको ३ महिना तेल पेल्नै पनि हामीलाई पुग्दैन, ‘खोकना दोबाटोमा उभिएको सिकाली बहुउद्देश्यीय सहकारी तेल मिलका कर्मचारी लक्ष्मण डंगोल भन्छन्, ‘हामी त युक्रेन, अस्ट्रेलिया, क्यानडा, भारत आदि देशबाट आउने तोरीदानाका भरमा खोकनामा तेल पेलिरहेका छौं । हाम्रो नेपाली तोरी त अरू विदेशी नाममा आउने तोरीसँग वासनाकै लागि मिसमास अचारजस्तै मात्रै हो ।’ गाउँले समुदायका भरमा चलेको सिकाली तेलमित्रमा १ सय ५२ सदस्य रहेछन् ।

तोरी ‘सिन्डिकेट’
खोकनासँग ‘तोरीको तेल’ चिनारीबाहेक नेपालमै पहिलो पटक बिजुली बलेको गाउँ (सन् १९११) को इतिहास पनि छ । पछि ९० सालको भुइँचालोपछि खोकना गाउँको संरचना विक्षत बनेपछि तत्कालीन राणा प्रधानमन्त्रीले दिएको चिलाउने काठका भरमा उभिएको गाउँसँगै तेलमिल चलाउन कोलहरू बनाइएको कथा गाबु ज्या:साका कान्छा महर्जनले पनि सुन्दै आएका रहेछन् । अहिले चल्ने कोल (काठबाट पेल्ने) पद्धति अघि भने उत्तोलकबाट तेल पेलिने गरिएको इतिहास रहेछ ।
‘तर तेलको इतिहास जोगाउनै मुस्किल परिरहेको बारे धेरैलाई थाहा छैन,’ कान्छा भन्छन्, ‘यहाँ अनेक बाबा र जोगीका नाममा उत्पादित तेलहरू भारतीय बजारबाट सीधै आइपुग्छ, त्यो पनि हाम्रो कोल–तेलभन्दा सस्तो रेटमा । हामी भने आफ्नै नेपाली तोरी किन्न पनि भारतीय एजेन्ट र एजेन्सी पर्खनुपर्ने स्थितिमा छौं ।’
कान्छाका भनाइमा नेपाली तोरी खरिद्न उनी पनि चितवन/दाङसम्म पुग्ने गरेका छन् । तर, अनेक कागजी झमेला र बहानाबाजीका अड्चनले नेपाली तोरी किनेर उनले ल्याउनै सकिरहेका हुँदैनन् । जबकि आफ्नै नेपाली तोरीदानामा भारतीय ट्याग लागेर अथवा मिसावट भएर थुपारिएको तोरीबोरा वीरगन्ज बन्दरगाहदेखि ढुङ्गेअड्डाका तोरी व्यापारीका गोदामसम्म प्रशस्तै पाउन सकिन्छ ।
‘अब आफ्नै तोरीको ओरिजिनल दाम ९०/९५ रुपैयाँ केजीसम्म हुन्छ भने यही तोरी भारत गएर केही मिसमास र नयाँ ट्यागमा आउँदा ७०/७५ रुपैयाँ प्रतिकेजी पर्ने हुन्छ,’ कान्छा भन्छन्, ‘अब यो तोरीको सिन्डिकेट के–किन–कसरी चलिरहेको छ, हामी मिलवालालाई नै थाहा छैन ।’
तर, तोरीदाना जहाँ र जुनै देशको ल्याए पनि त्यसमा नेपाली तोरी (पहाडी तोरी) नमिसाईकन तेलमा वासना आउनै नसक्ने स्वादिलो अनुभव छ कान्छासँग । खोकनामा अहिले अलिक बढी चलेका गाबु ज्या:सा र सिकाली तेलमिलमा औसतमा दैनिक १ सयदेखि १ सय ५० लिटरसम्म तोरीतेल उत्पादन हुन्छ जो खोकना आसपासकै बजारका लागि मात्रै काफी छ । खर्पनमा तेलका ट्याङ्का बोकेर गाउँसहर घुमाउँदै हिँड्ने फिरन्ता तेल व्यापारीहरू भने यदाकदा मात्रै आफूकहाँ तेल खरिद्न आइपुग्ने यी मिलवालाको भनाइ छ ।
सिकाली तेलमिलमा मात्रै मासिक ६ टनभन्दा बढी तोरीको खपत हुने गरेको छ जसमा ९० प्रतिशत विदेशी आयातले थेग्ने गर्छ । खोकनाको ‘शुद्ध तोरीको तेल’ अहिले प्रतिलिटर २ सय ५० रुपैयाँमा पाउन सकिन्छ ।
तोरी ‘एजेन्ट’
लगातार दुई दिन खोकनाका गल्ली–गल्छेंडा घुमिरहँदा अनुहारमा मास्क सिउरेका र कलम–कागज लिएरै तोरीदानाको कुरा गर्दै हिँडिरहेका फिरन्ता व्यापारी निकै भेटिए । त्यही मेहरोमा सिकाली तेलमिलमा भेटिएका वीरगन्जका ब्रजेश गुप्ता पनि तोरी–एजेन्ट रहेछन् ।
‘हामीलाई कहाँ, कुन देशको मतलब हुन्न, ‘मास्क नखोलीकन ब्रजेशले सुनाए, ‘हामी त यहाँ तेलमिलबाट पाउने अर्डरअनुसार वीरगन्ज ड्राइपोर्टबाट तोरी उठाएर काठमाडौंसम्म ल्याइदिन्छौं । अब यसरी आउने तोरी युक्रेनदेखि क्यानडा, अस्ट्रेलिया, हंगेरीसम्मको हुन सक्छ । लोकल तोरी/सरस्यूँ भने बर्दिया, धनगढीबाट पनि आउने गर्छ ।’
कालिमाटीमै अशोक कुमारदेखि दिलीप श्रेष्ठसम्म तोरीदानाको बजारमा रम्ने–रमाउने व्यापारी भेटिए । मधेस मूलका अर्का तोरी–व्यापारी जयप्रकाश गुप्ताले एक फोन गर्नासाथै सुनाए, ‘तपाईंलाई कहाँको, कति क्विन्टल तोरी चाहिएको हो, भन्नुस् मात्रै । मसँग अस्ट्रेलियादेखि क्यानडासम्मको तोरी स्टकमा छ ।‘
गुप्ताका अनुसार, उनीकहाँ वार्षिक १ सय टनसम्म विदेशी तोरीदानाको कारोबार हुन्छ । उनी अर्डरअनुसार तोरी वा सरस्यूँ मिलहरूमै पुर्याइदिन्छन् । विशेषत: लगनखेल, कालिमाटीमा लाग्ने तोरीको ‘होलसेल’ बजारबाटै यसको कारोबार निर्धारण भइहाल्ने अनुभव उनीसँग छ । त्यसमा पनि अहिले ७४ सय रुपैयाँ प्रतिक्विन्टल पर्ने अस्ट्रेलियन तोरीको ‘डिमान्ड’ बढी छ जसमा तोरीतेल उत्पादन (प्रतिसय केजीमा) झन्डै ४० प्रतिशत छ । जबकि नेपाली तोरीमा प्रतिसय केजी तोरीमा ३२/३३ लिटरभन्दा बढी तेल आउँदैन ।
खोकना क्षेत्रबाट बाहिर भैंसेपाटी–रोडमै ३० वर्षयता रुद्रायणी तेलमिल चलाएर बसिरहेका ७२ वर्षे पूर्णबहादुर डंगोलका अनुभवमा पनि ‘खोकनाको तेल भन्नु नाम र इतिहास मात्रै’ हो । ‘खोकनाको मान्छेले तोरी भुटेर र कोलमा राखेर तेल राम्ररी पेल्ने भएकाले यो ख्याती छाएको हो, ‘डंगोल भन्छन्, ‘अहिलेको कुरा गर्नुहुन्छ भने म पनि अस्ट्रेलियन तोरीमा नेपाली तोरीदाना मिसाएर पेल्ने गर्छु, नत्र तेल वासना पाउनै पनि मुस्किल छ ।’
कुनै जमानामा घरेलु उद्योगका रूपमा सञ्चालित खोकनाका तेलमिलहरू त्यहींबाट आउने तेल र पिनालाई गाउँले मुखिया मार्फत तत्कालिन राणा शासकलाई करस्वरूप बुझाउने गर्थे भन्ने कथा पनि खोकनामा सुन्न सकिन्छ ।
सिकाली तेलमिलका सञ्चालक सिद्धिशरण महर्जनका बुझाइमा पनि नेपाली तोरी र त्यसमा पनि पहाडी भेग (१५ सय मिटरभन्दा माथिको उचाइमा फलेको) तोरीको तेल स्वाद आफ्नै हुन्छ, वासना पनि उस्तै तिख्खर । ‘तर पाउनै मुस्किल छ,’ महर्जन भन्छन्, ‘तोरीखेती भन्दा प्लटिङ र जग्गा दलालीमा पैसा पाउने जमाना आएपछि नेपाली तोरी किन खोजिरहने ? बरु युक्रेन र हंगेरीदेखि तोरीदाना मगाएर खोकनामा तेल पेल्दै बस्ने नि !’
ekantipur


