गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनार र सावित्रा न्याैपाने । तस्बिरः अन्नपूर्ण
तम्घासः गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही ठाउँकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरूलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १ गते राति लालबहादुरसँगै सावित्रालाई भेटेपछि स्थानीयले उनीहरूलाई बाँधेर कुटपिट गरी घर भत्काएर गाउँ निकाला गरेका हुन् ।
अर्बेनी गाविस कार्यालयका सहायक ४५ वर्षीय झबिलाल न्यौपाने र सावित्राका भतिजा ४३ वर्षीय चिन्तामणि न्यौपानेको अगुवाइमा डेढ सयजना स्थानीयले एक्कासि उनीहरू दुवैजनालाई गाउँ निकाला गरेको वृद्धका छोरा ३७ वर्षीय अनुज सुनारले बताए । ‘गाउँ निकालाको कागजमा दुवैजनालाई जबरजस्ती ल्याप्चे लगाई गाउँ निकला गरियो’, उनले भने ।
कुटाइ खाएको पाँचौ दिनसम्म पनि वृद्ध हिँड्न सकेका छैनन् । उनको खुट्टामा लाठी हानेको नील डाम छन् । उनीहरू दुवैलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाएर गाविसमा लगी गाउँ निकाला गर्ने कागजी निर्णय गराएको घटनामा सम्लग्न चिन्तमणिले स्वीकार गरे ।
गाउँ निकाला गरेपछि जंगल पसेका ती दुवैजनालाई उनका छोरा र आफन्तले दुई दिनपछि घरदेखि टाढाको अनकन्टार भीरमा भेट्टाएका थिए ।
‘गाउँ निकाला गर्नेमा म मात्रै छैन, गाउँका सय डेढ सयजनाले गरेका हौं’, उनले भने । पीडित लालबहादुरको घर पनि भत्काइएको छ । स्थानीयको ठूलो समूहले धम्क्याउँदै ‘जलाउँ कि भत्काउँछस्’ भनेपछि आफू् उनीहरूकै आँखा अगाडि घर भत्काउन बाध्य भएको उजुरी दिन सदरमुकाम आएका छोरा अनुजले बताए ।
लालबहादुरकी पत्नीको २२ वर्षअघि मृत्यु भएको थियो । छोराबुहारी छुट्टिएपछि लालबहादुर अर्कै गाउँमा बस्दै आएका थिए । गाउँ निकाला गरेपछि जंगल पसेका ती दुवैजनालाई उनका छोरा र आफन्तले दुई दिनपछि घरदेखि टाढाको अनकन्टार भीरमा भेट्टाएका थिए । दुई दिन दुई रातसम्म जंगलमा बसेका उनीहरूलाई त्यहाँका दलितहरूले गाउँ फर्काए पनि बस्ने बास र खाने गाँस नहुँदा दुवै बिचल्लीमा परेका छन् ।
बाँधेर गाउँ डुलाइएका उनीहरूलाई नेपाली कांग्रेस अर्बेनीका सभापति रामप्रसाद न्यौपानेले नबाँध्न आग्रह गर्दै फुकाइदेऊ भनेपछि गाविस कार्यालयमाथिको पीपलको चौतारोमा लगेर छोडिएको थियो । गाविस सचिव भोजबहादुर रानाले भने घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । दलित प्रतिनिधिका रूपमा गाउँ निकाला गर्ने कागजमा हस्ताक्षर गर्न लगाइएका अर्बेनी ९ का बेलबहादुर विकले आफूलाई ढिलो बोलाएर हस्ताक्षर गराएको बताए ।
‘गाउँ निकलाको निर्णय सुनाउँदै मलाई हस्ताक्षर गर्न लगाएका हुन् । त्यत्रो गाउँ घोप्टिएपछि म बोल्न सक्ने कुरै भएन । हस्ताक्षर गर्न बाध्य भएँ’, उनले भने ।
घटनाबारे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगनाले पीडित पक्षले जाहेरी दिए सत्य तथ्य बुझेर दोषीलदाई कारबाही हुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले तत्काल पुर्तिघाट प्रहरीचौकीलाई घटनाबारे सत्यतथ्य बुझ्न पठाएकाले बुझेर कारबाही गर्ने बताए ।

गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारको भत्काइएको घर ।
annapurnapost


