पुस ६, २०७३- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् ।
‘संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ, कांग्रेस गुल्मीका पूर्वपार्टी सभापति चन्द्रबहादुर केसीका पिता स्वर्गीय ज्ञानबहादुर केसीको ११ औं दिनको पुन्यतिथिका स्मृतिमा गुल्मीको भाडगाउँमा बुधबार आयोजित शोकसभामा उनले भने — ‘उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।’
कांग्रेसका नेता समेत रहेका उपप्रधान एवम् गृहमन्त्री निधिले एमालेलाई मुढेबल छोडेर सके विपक्षमा मतदान गर्नसमेत चुनौती दिए । प्रदेशको सीमाङ्कन गर्नुभनेको प्रदेश टुक्र्याउनु नभएको भन्दै उनले टुक्र्याउनु र सीमाङ्कन गर्नु अलग-अलग कुरा भएको टिप्पणी गरे ।
उपप्रधानमन्त्री निधिले संविधान संशोधन प्रस्ताव गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम र प्यूठानका जनताको हितमा भएको भन्दै यसले जनतालाई कमजोर हैन शक्तिमा वृद्धि गर्ने काम गरेको छ भने ।
एमालेको ‘लहलहै’मा लागेर आन्दोलनमा उत्रनुको कुनै औचित्य नरहने भन्दै उनले आन्दोलनलाई छोडेर पार्टीको निर्णयमा साथ दिन कांग्रेस कार्यकर्तालाई निर्देशनसमेत दिए ।
शोकसभामा रक्षामन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँडले हामी सबैका लागि मुलुक ठूलो भएको भन्दै देशका गम्भीर मुद्दालाई एमालेले राजनीतिकरण गरेर मुलुकलाई झन जटिल अवस्थामा पुर्याउन खोजेको आरोप लगाए । एमालेको राष्ट्रवादको नारा विल्कुलै नक्कली राष्ट्रवाद भएको टिप्पणीसमेत उनले गरे ।
रासस




















