मंसिर ३०, २०७३- निर्माणधीन नारायणगढ–मुग्लिन सडक खण्ड पुष ७ गतेबाट बन्द हुने भएको छ । सडक साँघुरो हुँदा निर्माणमा कठिनाई भएको भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै दिनको ४ घण्टा बन्द गर्न लागेको हो ।
अर्को सूचना जारी नभएसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने आयोजनाले जनाएको छ । सडक बन्द हुने भएपछि आयोजनाले सवारी चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत आग्रह गरेको छ ।
सूचनामा देशकै प्रमुख, महत्वपूर्ण र संवेदनशील सडक भएकाले निर्माणमा जति ढिलाइ भयो, त्यति नै देश र जनतालाई असर हुने उल्लेख गरिएको छ ।
आयोजनाले साँघुरो र जटिल भौगोलिक बनावटको सडक व्यस्त हुने भएकाले केही स्थानमा सवारी रोकेर काम गर्नुको विकल्प नभएको भन्दै सडक बन्द गर्न लागिएको जनाएको छ ।
यसअघि पनि सडक बन्द गरेर काम गर्दा धेरै काम भएकाले त्यही अनुसार अहिले बन्द गर्न लागिएको आयोजनाका इन्जिनियर शिव खनालले बताए । ‘बन्द नगर्दासम्म कामको प्रगति हुन सकेन, पहाड कटिङ गर्न समस्या भएपछि सूचना जारी गरेर बन्द गर्न लागिएको हो,’ खनालले भने ।
खनालका अनुसार अहिले सम्म ३२ प्रतिशत मात्र निर्माणको काम भएको छ ।
सक्ने लक्ष्य सन २०१७ अगस्टमा हो । तर निर्माणको काम आधा सम्पन्न हुन सकेको छैन । सन २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्तिको काम सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल-भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत पनि सञ्चालित नारायणगढ–मुग्लिन सडक आयोजना हो । सडक विस्तारको निर्माण लागत २ अर्ब ९० करोड रुपैयाँ हो ।
ekantipur


