मंसिर २६, २०७३- नयाँबस्तीस्थित प्रहरी वृत्तमा आक्रमण भएको छ । शनिबार राती अत्याधिक मादक पदार्थ सेवन गरी बाटोमा बेहोस अवस्थामा भेटिएका ३६ वर्षीय ट्याक्सी चालक राजकुमार लामालाई प्रहरीले समयमै अस्पताल नपुऱ्याएको भन्दै स्थानीय र लामाका आफन्तहरुको ६०/७० जना आक्रमणमा उत्रिएका थिए ।
बेहोस रहेको लामाको अत्तरखेलस्थित अस्पताल पुऱ्याउँदा पुऱ्याउँदै मृत्यु भएको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रधुम्न कार्कीका अनुसार आक्रमणकारीले तीन निजी र एक प्रहरीको मोटरसाईकल जलाएका छन् भने वृत्तको झ्यालका केही सिसा फुटाएका छन् ।
भीड नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । आगजनीमा उत्रिएको १३ जनालाई पक्राउ गरेको प्रवक्ता कार्कीले बताए । पक्राउ पर्नेमा लाक्पा शेर्पा, देवराज मगर, कुमार खत्री, डम्बरबहादुर तामाङ, विष्णु तामाङ लगायत छन् ।
दोलखा घर भई नयाँबस्ती बस्ने राजकुमार आफ्नै ट्याक्सी चलाउँथे । वृत्तका असई युवराज खरेलका अनुसार अहिले अवस्था साम्य भइसकेको छ ।
ekantipur




















