काठमाडौँ, मङ्सिर २४ गते । गृह मन्त्रालय समरजङ कम्पनीका कर्मचारी कामविहीन छन् । दशकौँदेखि जाडोमा घाम ताप्ने र गर्मीमा छायाँमा सुस्ताउनेबाहेक कम्पनीका २९ कर्मचारीलाई खासै काम छैन । समरजङ कम्पनी प्रमुख प्रकाशचन्द्र पन्त प्रश्न गर्नुहुन्छ, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, श्रम कार्यालयमा कर्मचारी नभएर सेवाग्राही मर्कामा परेको यो बेला समरजङमा रहेका सरकारी कर्मचारी कामविहीन हुनु कत्तिको स्वाभाविक होला ?
लेखापाल, सवारी चालक, कम्प्युटर अप्रेटर र नायव सुव्वा सहितको यो टोली कामविहीन छ । ‘कम्पनीलाई चुस्त र दुरुस्त रुपमा जनसेवामा खटाइयोस् भन्ने कम्पनीको माग रहँदै आएको छ, कतैबाट सुनुवाइ भएको छैन’ पन्त भन्नुहुन्छ । राजा रणबहादुर शाहले आफ्नो सुरक्षाका लागि खडा गरेको यो कम्पनी सैनिक प्रकृतिको भए पनि कालान्तरमा जिम्मेवारी कटौती गर्दै निजामतीतर्फ धकेलिएको हो ।
निजामतीमा धकेलिएपछि नै कम्पनीको बेहाल सुरु भएको कर्मचारीहरुको दावी छ । सबैभन्दा हाँसो उठ्दो कुरा त निजामती सेवामा रहेकाले सैनिक बर्दी लगाएर परेड गर्नुपर्ने र खरिदारले धोती फेरेर कम्पनीको कोतपूजा गर्नुपर्ने जिम्मेवारी यहाँ छ । एकाध यी जिम्मेवारीबाहेक जाडोमा घाम ताप्ने र गर्मीमा सुस्केरा हाल्ने बाहेक कम्पनीमा कुनै काम छैन ।
gorkhapatraonline


