१० मंसिर, काठमाडौं । संविधान संशोधन विधेयक दर्ता गर्न नदिने रणनीतिमा रहेको नेकपा एमालेले संविधानको धारा २७४ उठाएपछि सत्ता गठवन्धनमा खैलाबैला मच्चिएको छ ।
शुक्रबार विहान बालुवाटारमा बसेको कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठकमा पनि २७४ कै चर्चा भएको छ । र, सरकारले कानुनी परामर्श समेत थालेको छ ।
बिहीबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले संविधानको धारा २७४ को ४ अनुसार संविधान संशोधन गरेर सीमांकन हेरफेर गर्न नसकिने बताए । साथै सरकारले संशोधन ल्याए अदालत जाने ओलीले चेतावनी दिएका थिए ।
त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका शीर्ष नेता र केही कानुनका जानकारसँग छलफल गरेका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश, गृहमन्त्री विमलेन्द्र निधि लगायतको उपस्थिति थियो ।
सत्तारुढ दलका नेताहरुकै उपस्थितिमा प्रधानमन्त्रीले कानुन सचिव टेकप्रसाद ढुंगाना, प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव लगायतलाई बोलाएर यसबारे राय लिएका छन् ।
एक सहभागीका अनुसार कांग्रेस र माओवादी नेताहरुको बैठकमा सीमांकन हेरफेरबारे विभिन्न विकल्पबारे पनि छलफल भएको थियो । तर, के गर्ने भन्ने निर्णयमा पुग्न सकेन ।
अहिले सीमांकन हेरफेरको प्रस्ताव नलैजाने र शक्तिशाली आयोग बनाउने विकल्प समेत आएको छ । तर, यसमा प्रधानमन्त्री सहमत छैनन् । उनी राजनीतिक रुपमा निर्णय गरेर जाने पक्षमा छन् ।
तर, यसो गर्दा भोलि एमालेले संसद अवरुद्ध गर्नेदेखि अदालतले जाने सम्भावना छ । र, यदि अदालतले संशोधन प्रस्तावको विपक्षमा फैसला गरे प्रधानमन्त्री नैतिक संकटमा पर्न सक्नेसम्मको विश्लेषण बालुवाटार बैठकमा भएको एक नेताले बताए ।
के छ संविधानको धारा २७४ मा ?

संविधानको धारा २७४ मा संविधान संशोधन सम्वन्धी व्यवस्था छ । जस अनुसार सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकुल हुने गरी संविधान संशोधन गर्न सकिन छैन । अन्य धारा भने संशोधन र खारेज हुनसम्छ ।
तर, सोही धाराको उपधारा ४ मा कुनै प्रदेशको सीमाना परिवर्तन वा अनुसूची ६ -प्रदेशको अधिकार सूची) मा उल्लेख भएको विषय सम्वन्धी संशोधन भएमा विधेयक संघीय संसदमा प्रस्तुत भएको ३० दिनभित्र सहमतिका लागि प्रदेश सभामा पठाउनु पर्छ भनिएको छ । र, उपधारा ५ मा कुनै प्रदेश सभा कायम नभए गठन गरेर पहिलो बैठक बसेको ३० दिनभित्र स्वीकृत वा अस्वीकृत गरेर पठाउनु पर्नेछ ।
onlinekhabar


