मंसिर ९, २०७३- संसदमा प्रतिनिधित्व गरेका साना २५ दलहरुले राजनीतिक दलसम्बन्धी कानुनमा ‘थ्रेस होल्ड’ को व्यवस्था नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान पुगेका साना दलका नेताले सङ्घीय प्रणालीमा दलका नेतालाई दिइने सुविधा कटौती तथा पद सीमा (थ्रेस होल्ड)का नाममा ठूला र साना दलबीच फरक व्यवस्था नगर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्को पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ का विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव चन्द्र थापाले जानकारी दिए ।
थापाले संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरेको तर विधेयकमा संविधानविपरीत व्यवस्था गर्न लागिएको आरोप लगाए । उनले २०६४ र २०७० सालमा भएको निर्वाचनमा निर्वाचनको व्यवस्थाअनुसार नै हुनुपर्ने भन्दै आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । विसं २०६४ को निर्वाचनमा ५४ दलले भाग लिएकोमा २५ दल र २०७० सालमा १२२ दल सहभागी भएकामा ३० दलले मात्र संविधानसभामा प्रतिनिधित्व गर्न पाएका थिए ।
त्यसैगरी, साना दलले सङ्घीय संसद्को पदाधिकारीका सम्बन्धमा पनि साना दललाई विभेद गर्न लागिएको भन्दै त्यसलाई सच्चाउन आग्रह गरेका छन् ।
साना दलका मागका सम्बन्धमा प्रधानमन्त्री दाहालले साना दलका विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै मागका विषयमा अन्य राजनीतिक दलसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।
ekantipur


