मंसिर ३, २०७३- एमालेका नेता सुरेन्द्र पाण्डेले संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै भएको टिप्पणी गरेका छन् ।
पोखरामा शुक्रबार पत्रकारसँगको भेटघाटमा उनले सरकारले संविधान संशोधन सत्ता टिकाउने खेलको रुपमा गर्न लागेको भन्दै ठोस प्रस्ताव आए एउटै टेबुलमा बसेर छलफल गर्न एमाले तयार रहेको बताए । उनले निर्वाचन नहुने शङ्का बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले निर्वाचनसम्बन्धी ऐन पारित नभएकोमा गुनासो गर्दै निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताए । अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
रासस


