रमेश पौडेल
पोखरा, कात्तिक ३० गते । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन थप दुई दिन लम्बिएको छ । नेतृत्व तहले महाधिवेशनमा सर्वसहमतिको प्रस्ताव अगाडि बढाउन खोजेपछि सोमबार बन्दसत्र हुन नसक्दा निर्वाचन प्रक्रियासमेत थालनी हुन सकेन । पार्टीलाई एकबद्ध बनाएर लैजाने उद्देश्यले पार्टीको उच्चस्तरीय टोली पोखरामै बसेर तरुण नेता छान्ने प्रयासमा छ । त्यसै कारण पोखरा सभागृहमा प्रतिनिधिहरूलाई बन्दसत्रमा प्रवेश गराइएन ।
अन्योलमै दिन बितेपछि तरुण दलको निर्वाचनका लागि गठित निर्देशक समितिका संयोजक बालकृष्ण खाँणले विधान संशोधन र निर्वाचनका लागि समय बढेको बताउनुभयो । खाँणले हालको कार्यसमितिलाई पदाधिकारी लैजाने गरी मनोनयन गरिने जनाउनुभयो । तर, नेताहरूकै बीचमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि नबढेको केन्द्रीय सदस्य ऋषि काफ्लेले बताउनुभयो ।
सर्वसम्मत नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता खुमबहादुर खड्काबीच सहमति भएको बुझिएको छ । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले भने लोकतान्त्रिक विधि र प्रक्रियाबाटै निर्वाचन हुनुपर्ने दाबी गर्दै आएको छ ।
यसैबीच तीन समूहले छुट्टाछुट्टै विधान पेस गरेपछि निर्वाचन समितिले विधानलाई अन्तिम रूप दिने बताइएको छ । संशोधित विधानमा सातै प्रदेशका लागि एक÷एक उपाध्यक्ष र सचिव हुनेछन् । त्यसैगरी महामन्त्री वा महासचिव के राख्ने भन्ने टुङ्गो नभए पनि त्यो पदमा दुई जना हुने स्रोतले बताएको छ ।
यसैबीच तरुण दलको नेतृत्व सम्हाल्ने देउवा पक्षका जितजङ्ग बस्नेतको बढी चर्चा भएपछि सिटौला समूहले पत्रकार सम्मेलन गरी उत्तम चापागाईंलाई अध्यक्ष पदमा उठाउने घोषणा गरेको छ । अर्काे पक्ष खड्का समूहबाट कर्ण मल्लको नाम चर्चामा छ । पौडेल समूहले सहमतिका लागि भन्दै उम्मेदवारी बाहिर ल्याएको छैन ।
नेताहरूको भागबन्डा अनुसार अध्यक्षले मनोनीत गर्ने पदाधिकारीमा देउवा पक्षका १० जना, पौडेल पक्षका छ जना र सिटौला तथा खड्का पक्षका गरी चारजना राख्ने सहमति भएको जनाइएको छ ।




















