, धनगढी
कार्तिक २३, २०७३- एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्ध र परराष्ट्र नीतिका विषयमा राष्ट्रिय हित विपरित निन्दनीय काम भइरहेको बताएका छन् ।
‘छिमेक सम्बन्ध र परराष्ट्र नीतिका विषयमा अशोभनीय र निन्दनीय काम सत्ता पक्षबाट भइरहेको छ,’ ओलीले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘देशलाई अरुको स्वार्थ र अग्रगमन रोक्ने किसिमले राष्ट्र विरोधी गतिविधि भइरहेको छ ।’
एमाले ७ नं प्रदेशका अगुवा कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालसहित धनगढी आइपुगेका एमाले अध्यक्ष ओलीले छिमेक सम्बन्धमा भइरहेको असावधानीले गम्भीर दुर्घटनातर्फ मुलुक धकेलिन थालेको बताए ।
‘सरकार गठन भएदेखि नै तमासा देखाउने काम भएको छ,’ ओलीले भने, ‘राष्ट्रिय एकता खलबलाउने काम जनताले स्वीकार गर्न सक्दैनन् ’।
कांग्रेस सभापति देउवाको भारत भ्रमण प्रति लक्षित गर्दै उनले देशको छिमेक नीति सन्तुलित हुन नदिने प्रयास भइरहेको बताए । ओलीले भने, ‘इतिहासदेखि नै सन्तुलित छिमेक नीतिलाई समाप्त पार्ने गम्भीर षडयन्त्र सुरु भएको छ ।’
संविधान संशोधनका विषयमा ओलीले देश र जनताका हितमा हुने संविधान संशोधनमा एमालेकोसाथ रहने बताए । ‘अनावश्यक र अरु कसैको स्वार्थ सिद्ध गर्न हुने संविधान संशोधन एमालेलाई स्वीकार्य हुन सक्दैन् ।’
लोकमान प्रकरणमा सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने, ‘महाअभियोग प्रक्रियामा रहेको छ, त्यो संसदबाट पास हुन्छ ।’ सबै प्रक्रिया पुर्याएर संसदबाट महाअभियोग पास हुनेमा कुनै शंका नरहेको उनले बताए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेस समस्या मधेसका जनताले बुझेको र त्यसमा अनावश्यक रुपमा भइरहेका प्रयास सफल नहुने बताए । अध्यक्ष ओलीसँगै कार्यकर्ता भेलामा धनगढी आइपुगेका नेता नेपालले भने, ‘चीनले सरकारसँग सोधेको स्पष्टीकरणका विषयमा आफ्नो टिप्पणी नरहेको बताए ।’
ekantipur


