मेनुका कार्की
काठमाडौं: गत वर्षको विनासकारी भूकम्पपछि बिमा कम्पनीहरूमा १६ अर्ब ६३ करोड रुपैयाँको दाबी परेको छ । भूकम्पपछि विभिन्न १६ वटा बिमा कम्पनीमा १७ हजार आठ सय ४० दाबी परेको बिमा समितिले जानकारी दिएको छ ।
कम्पनीमा परेको कुल दाबीमध्ये अग्नि बिमाको हिस्सा ६० प्रतिशत छ । बिमा समितिको यस वर्षको भदौसम्मको तथ्यांकअनुसार कुल दाबीमध्ये १५ हजार दुई सय ५३ वटा अग्नि बिमाको छ । भूकम्पले अन्यको तुलनामा भौतिक संरचनामा बढी क्षति पुर्याएकाले यस्तो बिमा दाबीको संख्या अधिक रहेको बिमा समितिका उपनिर्देशक ध्रुव तिमल्सिनाले जानकारी दिए । आगलागीका कारण भौतिक संरचना र अन्य सम्पत्तिमा हुने नोक्सानीको जोखिमवापत जारी गरिने बिमा योजनालाई अग्नि बिमा भनिन्छ ।
यस्तो योजनाले दुर्घटनावश भएको आगलागी र आगोको ज्वाला प्रस्फुटित भई लागेको आगोबाट भएको क्षतिको मात्रै सुरक्षा प्रदान गर्छ । अधिकांश दुर्घटना ज्वालाकै कारण हुने भएकाले भौतिक सम्पत्तिको बिमा यस योजनाअन्तर्गत समावेश गरिएको हो ।
अग्नि बिमा योजना खरिद गरेपछि अतिरिक्त शुल्क भुक्तान गरी अन्य जोखिम पनि हस्तान्तरण गर्न सकिन्छ । निर्माण भइसकेका भवन, गोदाम, औद्योगिक प्लान्टलगायतका संरचनाको बिमा यस योजनाअन्तर्गत पर्दछ । यस्तै, अग्नि बिमासँगै भूकम्प बिमा पनि गर्नुपर्छ । बिमा समितिले दुई वर्षअघि अग्नि बिमासँगै भूकम्प बिमालाई पनि अनिवार्य गरेको हो । इन्जिनियरिङ बिमाअन्तर्गत एक सय ५५ वटा दाबी परेको छ ।
भवन, गोदाम, पुल, सडकलगायत निर्माणाधीन भौतिक संरचना सुरक्षाका लागि जारी गरिने बिमा योजना इन्जिनियरङ बिमा हो । भूकम्पका कारण क्षति भएको निर्माणाधीन भौतिक संरचना क्षतिपूर्तिका लागि परेको दाबी कुल बिमा दाबीको करिब १७ प्रतिशत छ ।
यस्तै विविध बिमाअन्तर्गत एक हजार चार सय ३५ वटा दाबी परेको छ । यो संख्या कुल बिमा दाबीको २१.३७ प्रतिशत हो । मोटर बिमाअन्तर्गत नौ सय ९३ वटा दाबी परेको समितिको तथ्यांकमा उल्लेख छ । यो संख्या कुल बिमा दाबीको १.३३ प्रतिशत हो ।
यन्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारीसाधन मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्र्याक्टरलगायत सवारीसाधनको दुर्घटनाबाट हुने क्षतिवापत सुरक्षा प्रदान गर्न जारी गरिने बिमालाई मोटर बिमा भनिन्छ । मोटर बिमाअन्तर्गत तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य गरेको छ । भूकम्पयता जम्मा चारवटा सामुद्रिक बिमाको दाबी परेको छ ।
कुल बिमा दाबीमध्ये १० अर्ब २५ करोड रुपैयाँ दाबी भुक्तान भएको छ । यो रकममध्ये अग्नि बिमाअन्तर्गत आठ हजार सात सय ४५ दाबी बिमा भएकामा ६ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी भएको छ । यस्तै एक सय ३४ वटा दाबीमा कम्पनीहरूले एक अर्ब २५ करोड चार लाख पेस्की रकम भुक्तान गरेका छन् ।
सात सय ३५ वटा मोटरको बिमा दाबीको १७ करोड १४ लाख रुपैयाँ भुक्तान भइसकेको छ । चारवटा मोटर दाबी बराबर १५ लाख पेस्की रकम भुक्तान भएको समितिको तथ्यांकमा उल्लेख छ । उनीहरूको अन्तिम दाबी सात अर्ब ७३ करोड रुपैयाँ छ ।
दुईवटा सामुद्रिक दाबीका लागि विभिन्न कम्पनीले चार लाख रुपैयाँ भुक्तान गरेका छन् । सामुद्रिक बिमामा कुनै पेस्की दिइएको छैन ।
इन्जिनियरिङ बिमा दाबीमा परेका ३३ वटालाई १३ करोड ९८ लाख रुपैयाँ भुक्तान गरिएको छ । १३ वटाले ५१ करोड ७० लाख रुपैयाँ पेस्की रकम भुक्तान पाएका छन् । यसको अन्तिम दाबी ६५ करोड ६९ लाख रुपैयाँ छ ।
विविध शीर्षकअन्तर्गत परेको बिमा दाबीमध्ये एक हजार एक सय नौवटा दाबी बराबर तीन अर्ब ४६ करोड ३२ लाख भुक्तान गरिएको छ । विविध एक हजार तीन सय ४८ वटा बिमा अन्तिम दाबी तीन अर्ब ४६ करोड ९७ लाख रुपैयाँ छ ।
बिमा दाबी भुक्तान गर्न पुनर्बिमकबाट ६ अर्ब २२ करोड ९० लाख रुपैयाँ विभिन्न कम्पनीले पाएका छन् । सबैभन्दा बढी पुनर्बिमा रकम अग्निले पाएको छ । मोटर र सामुद्रिक बिमामा पुनर्बिमकबाट कुनै पनि रकम प्राप्त भएको छैन ।
भूकम्पपछि विभिन्न १६ वटा बिमा कम्पनीमा १७ हजार आठ सय ४० दाबी परेको छ ।
annapurnapost


