शुक्रबार प्रतितोला ५९ हजार (दस ग्राममा ५० हजार ५ सय ८५) रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि २०७० भदौ १२ गते सुनको भाउ बढेर तोलामा ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि आरोलो लागेको भाउ २०७२ साउन ८ गते ४७ हजार २ सय रुपैयाँमा झरेको थियो ।
बिहीबार र शुक्रबारको अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य तलमाथि हुँदै ७३ अमेरिकी डलरसम्मले
बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १२ सय ६३ अमेरिकी डलरबाट १३ सय ३६ डलर पुगेको छ । महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार पाउन्ड अवमूल्यन हुँदा विश्व सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । ‘सेयर बजारसँगै स्टर्लिङ पाउन्ड कमजोर हुँदा लगानीकर्ताहरू पैसा सुरक्षित गर्न सुनतर्फ लागे,’ अध्यक्ष शाक्यले भने, ‘जसले गर्दा सुनको भाउ बढेको हो ।’
पाउन्डको तुलनामा डलर बलियो हँुदा यसको असर नेपाली बजारमा पनि परेको छ । अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) पनि कमजोर भयो । भारुसँग स्थिर विनिमय दर भएकाले नेपाली रुपैयाँ पनि शुक्रबार करिब एक रुपैयाँले कमजोर भयो । शुक्रबार १ डलरको १ सय ९ रुपैयाँ हाराहारीमा कारोबार भयो ।
‘आजको धक्का सुरुवाती हो, बजारमा उतारचढाव भई नै रहेको छ,’ बैंकर्स संघका सदस्य भुवन दाहालले भने, ‘नेपाली रुपैयाँ धेरै नै कमजोर हुने देखिँदैन ।’
‘भूकम्प, नाकाबन्दी र महँगीले खस्केको बजार सुनको भाउ वृद्धिले थप मारमा परेको छ,’ अध्यक्ष शाक्यले भने, ‘सुनको भाउ वृद्धि हुँदा सुन किन्नेहरू निरुत्साहित हुन्छन् । केही उपभोक्ताहरू किन्नभन्दा बेच्न उत्साहित हुन्छन् ।’
शुक्रबार चाँदीको भाउ पनि ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८ सय २० रुपैयाँमा खरिदबिक्री भएको छ ।
ekantipur



