नवराज ढकाल
फोटो :फाइल फोटो
काठमाडौं: बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले ‘अनफिट’ भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ । दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो ।
बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुःख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ । विगतमा परम्परागत तरिकाबाट स्वास्थ्य परीक्षण गर्दा कतिपय कामदारलाई मलेसियाले विभिन्न रोग देखाएर फिर्ता पठाउने गरेको थियो । बायोमेट्रिकमा त्यस्तो नहुने आश्वासनसहित मलेसियाकै दबाबमा नेपालमा यो प्रणाली लागू भइरहेको छ ।
कामदारका लागि निकै खर्चिलो यो प्रविधिबाट परीक्षण गराउनुको मुख्य उद्देश्य नै परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने हो । बायोमेट्रिक लागू हुनुअघि दैनिक औसतमा दुई जना स्वास्थ्य परीक्षणमा अनफिट भएर स्वदेश फिर्ता हुने गरेका थिए । तर यो प्रणाली लागू भएपछि संख्या अझ बढेको पाइएको छ । अन्नपूर्णलाई प्राप्त तथ्यांकअनुसार दुई महिनाको बीचमा काम गर्न मलेसिया पुगेका अधिकांश त्यहाँ स्वास्थ्य परीक्षण गर्दा फेल भएका हुन् ।
कामदारले विदेश जानुअघि नेपालमै स्वास्थ्य परीक्षण गरी निरोगिता भएको प्रमाण पेस गरेपछि मात्र भिसा लाग्ने गर्छ । मलेसियाको हकमा एकतर्फीरूपमा बायोमेट्रिक लागू गरिएको छ । कम्प्युटर प्रविधिबाट गरिने यस विधिबाट सुरूमा नेपालमै स्वास्थ्य जाँच हुन्छ । नेपालमा बायोमेट्रिकबाट गरे पनि मलेसियाले कामदार त्यहाँ पुगेपछि स्वास्थ्य परीक्षण गर्छ । त्यसमा केही कमजोरी भटिएमा फिर्ता पठाउने गर्छ ।
वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले कामदारलाई आर्थिक भार थप्ने गरी लागू गरिएको बायोमेट्रिकको विश्वसनीयता पनि गुम्दै गएको बताए । ‘यो प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएकाहरू अझ बढी फेल भएर फिर्ता हुनुपरेकाले सरकारले यसबारेमा पुनर्विचार गर्न ढिला भइसकेको छ’, उनले भने ।
मलेसिया जाने कामदारले मात्र बायोमेट्रिक पद्धतिबाट परीक्षण गर्नुपर्ने हो । खाडीसहित अन्य मुलुकमा जाने कामदारका लागि यो प्रावधान छैन । मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने अनि सबै भन्दा बढी रेमिटेन्स पनि त्यहीँबाट आउने भएकाले यसमा जाने कामदारसहित अन्य सरोकारवाला सबैलाई बढी चासो हुने गर्छ ।
कामदारका लागि निकै खर्चिलो बायोमेट्रिक प्रविधिबाट स्वास्थ्य परीक्षण गराउनुको मुख्य उद्देश्य नै परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने नै हो ।
मलेसियाका रोजगारदाताले कामदार मन नपरेमा पनि स्वास्थ्य परीक्षणमा फेल भएको प्रमाणपत्र बनाएर कामदारलाई डिपोर्ट (घर फिर्ता) गराउँदै आएको छ । बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गराउने मेडिकल व्यवसायीको दाबी पनि यस्तै छ । ‘बायोमेट्रिकका कारण नभई कामदार मन नपरेका कारण त्यहाँका रोजगारदाताले रोगी भएको आरोप लगाएर फिर्ता पठाएका हुन सक्छन्’, एक मेडिकल व्यवसायीले भने ।
मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणबापत ४५ सय तिर्नुपर्छ । केही समययता मलेसियाको बेस्टिनेट कम्पनीले थप ३० अमेरिकी डलर असुलिरहेको छ । यसबाट कामदारको थाप्लोमा ३२ सय थप व्ययभार परेको छ । अब कामदारले स्वास्थ्य परीक्षणबापत झन्डै आठ हजार रूपैयाँ तिर्नुपर्छ ।
बायोमेट्रिक काण्डले वैदेशिक रोजगारीमा अर्को संकट थपिदिएको छ । सरकारले सेवा शुल्कबापत १० हजार रुपैयाँँमात्र लिन पाउने व्यवस्था गरेको छ । स्वाथ्य परीक्षण शुल्क पनि प्रतिकामदार २६ सयबाट बढाएर गत वर्ष ४५ सय पुर्याइएको थियो । बायोमेट्रिककै कारण स्वास्थ्य परीक्षण शुल्क बढाइएको थियो ।
गएको असारदेखि सरकारले खाडी र मलेसियामा निःशुल्क टिकट र भिसामात्रै कामदार पठाउनुपर्ने नियम बनाएको छ । यो व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन । यो आर्थिक वर्षको नौ महिनामा जाने कामदारको संख्या औसतमा २५ प्रतिशतले घटिसकेको छ । मलेसिया सबैभन्दा बढी रेमिटेन्स भित्रिने मुलुक हो । यहाँबाट आउने पैसा घट्दा समग्र रेमिटेन्समा असर गर्छ ।
वार्षिक ६ खर्ब हाराहारीमा रेमिटेन्स आउने गरेकामा मलेसियाको मात्रै ३० देखि ४० प्रतिशतको योगदान रहने गरेको छ । आगामी वर्षदेखि मलेसियाबाट अउने रेमिटेन्समा भारी गिरावट आउने अनुमान छ । खाडी मुलुकमा जाने कामदार पनि घटेकाले यसले समग्र रेमिटेन्सलाई बेस्सरी असर गर्न सक्छ । हाल मलेसियामा मात्रै करिब आठ लाख नेपालीले काम गरिरहेका छन् । मलेसियाले यतिबेला विदेशी कामदार लिन रोकेको
annapurnapost




















