नवराज महतारा
फोटो :खडेरीग्रस्त हुम्लाको मैलास्थित गाउँ ।
सिमकोट: लामो समयको खडेरीले परिवार पाल्नै गाह्रो भएपछि हुम्लाको मैलास्थित दलित बस्ती चौतारीगाउँ नै रित्तिएको छ । चौतारीगाउँका सबैजना परिवारसहित पेट पाल्न भारततिर गएपछि गाउँ रित्तिएको हो ।
सरकारले कर्णालीका खडेरी पीडितहरूका लागि निःशुल्क वितरण गर्ने भनिएको चामल कमिसनका कारण रोकिएपछि अधिकांश गाउँ प्रभावित भएका छन् । खडेरीले लगातार दुई बालीको उत्पादन शून्य भएको छ । स्थानीय उत्पादनमा ९८ प्रतिशतसम्म ह्रास आउँदा मैलामा परिवार पाल्न मुस्किल भएको थियो । अन्य कुनै जोहो नभएपछि आफूहरू भोकमरीमा ज्यान जोगाउन भारत लागेको मैला–४ का अम्मलाल नेपालीले बताए । उनी परिवारसहित भारत जान बाजुराको कोल्टी पुगेका छन् ।
आफूसहित गाउँका २२ वटै घरधुरीका सबै सदस्य भारत गएको जानकारी गराउँदै अम्मलालले भने, ‘घरमा खाऔं भने एक दाना चामल छैन । काम गरेर खाऔं भने पनि के काम गर्नु ? विकासका योजना सञ्चालन नै भएका छैनन् । बाजुरादेखि तीनचार दिन भारी बोकेर ११ जनाको परिवार कसरी पाल्नु ? जेनतेन वैशाखसम्म त परिवार पालियो । एक्लो ज्यानले भारीमात्रै बोकेर परिवार धान्न अब सकिन्नजस्तो छ । त्यसैले परिवारसहित भारत लागेको हुँ ।’
मैला–४ कै चाउर्या नेपालीले गत साउनदेखिको खडेरीले कात्तिकमा पाक्ने बालीको उत्पादन निकै कम भए पनि जेठमा पाक्ने गहुँबाली केही राम्रो हुन्छ कि भन्ने आसले अहिलेसम्म गाउँमै भारी बोकेर परिवार पाल्दै आएको बताए । तर यो गहुँबालीबाट बिउ पनि नआएपछि बाध्य भएर परिवारसहित भारत लागेको उनको भनाइ छ ।
चौतारीगाउँका हीरालाल नेपाली हिउँदमा परिवार पाल्न दुःख भए पनि गहुँबाली पाक्ला र गाउँमा विकासका योजना पनि सुरु होलान् भन्ने आसमा वैशाखसम्म गाउँमै बसे । गाउँमै हातमुख जोर्न अनेक काममा संघर्ष गरेका हीरालाल गाउँमा आगामी दिन सहज नदेखेपछि विद्यालय भर्ना भएका दुई छोराछोरीसहित भारततिर लागेका छन् । ‘गत वर्ष चैतदेखि नै सुरु हुने गाविस र जिविसका योजना यस वर्ष समयमै सुरु नहुँदा थप समस्या भएको छ,’ हीरालालले भने ।
चैतमा रुघाखोकीले एक साता थला पर्दा घरमा तीन दिनसम्म चुलो नबलेको बताउने ५४ वर्षीय हीरालालले बिरामी अवस्थामै पत्नीसँग सन्चो हुनेबित्तिकै भारत जाने सल्लाह गरेका थिए । गहभरि आँसु पार्दै उनले भने, ‘गाउँमा महिला र बालबालिकाले गर्ने कुनै काम छैन । म पनि भारी बोक्न त्यति नसक्ने भएँ । खेतबारीबाट सुक्को उत्पादन भएन । दुनियाँका अघि भोकले मर्नुभन्दा पराया (विदेशमा) को देशमा जुत्ता बोकेर भए पनि जहान पालुँला भनेर यो निष्कर्षमा पुगें ।’ उनका अनुसार खडेरीग्रस्त क्षेत्रका बासिन्दालाई सरकारले दिने भनेको चामल पनि नआएपछि गाउँ छाड्ने निर्णय गर्नुपरेको हो ।
जेठमा पाक्ने गहुँबालीको उत्पादनसमेत निराशाजनक भएपछि मैलाबाट मात्रै जेठको पहिलो साता ५० भन्दा बढी परिवार भारत गएको मैला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष रत्नलाल सुनारले बताए । समय र सरकारको आसमा वैशाखसम्म निकै कष्टकर रूपमा बिताएका उनीहरू कतैबाट राम्रो संकेत नपाएपछि अन्ततः भारतकै बाटो लागे ।
वैशाख र जेठमा मात्रै मैला गाविस–४ का २२ घर, वडा नम्बर ७ का ९ घर, ३ का ७ घर र २ का ४ घर सपरिवार भारत गएका छन् । अवस्थामा सुधार नआए जेठ अन्त्यसम्ममा थप ५० घरपरिवार भारत जान तयारीमा रहेको सुनारले बताए । खच्चर बाटो पुगेको हुम्लाको दक्षिण भेगमा पर्ने मैलाको बजारमा व्यापारिक चामल भए पनि स्थानीय बासिन्दासँग चामल किन्ने पैसा नभएपछि पेट पाल्नकै लागि भारत जानुपर्ने अवस्था रहेको मैला स्वास्थ्यचौकीकी कर्मचारी अम्बिका शर्माले बताइन् । उनका अनुसार भारत जानेमा लामो समयदेखि पेटभरि खान नपाएको बताउने दलित समुदायको संख्या बढी छ ।
स्थानीय उत्पादन निकै कम भएपछि भोकमरीले थला परेको कर्णालीका अन्य गाउँबाट पनि भारत जानेको संख्यामा वृद्धि भएको छ । गाउँमा जहानपरिवार पाल्न निकै गाह्रो भएपछि भारत जानेको संख्या बढेको मदनाका पूर्णप्रसाद ढकालले बताए । एमाले हुम्लाका उपसचिव ढकालका अनुसार गाउँमा गहुँबालीको उत्पादन कात्तिकमा पाक्ने अन्य बालीभन्दा न्यून भएपछि मदनाबाट वैशाख र जेठमा झन्डै एक दर्जन भारततर्फ गएका छन् ।
मदना गाविसका मक्क थापाका अनुसार जेठ पहिलो साता गाउँबाट तीनजना भारत गएका छन् । खाद्यान्न समस्याबाट ग्रसित मुगुका गाउँबाट समेत भारत जानेको संख्या बढेको छ । घरको उत्पादनले जेठको पहिलो साता पनि नथेग्ने भएपछि मुगुको भिईबाट वैशाखमा मात्रै झन्डै एक दर्जन युवा भारत गएका छन् ।
विगतमा हिउँदका तीन महिना युवाहरू भारत जाने भए पनि चैतमा खेतीपातीका लागि घर फर्किने भए पनि यस वर्ष खडेरीका कारण नफर्केको भिई निवासी मुगुका पूर्वसभासद् नवराज धामीले बताए । उनका अनुसार सरकारले दिने भनेको चामल केही स्थानमा पुगे पनि वितरण नगरेका कारण स्थानीय बासिन्दाका चुल्हामा आगो बल्न समस्या भएको छ ।
annapurnapost




















