फोटो :फाइल फोटो
काठमाडौं: प्रहरीले मोटो रकमसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार राजधानीको खिचापोखरी र पशुपति प्लाजामा छापा मारेर एक करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता एसपी सहकुल थापाका अनुसार हुन्डी कारोबारीमा सुरेन्द्र गोयलको चर्चा हुँदै आए पनि यसअघि उनी प्रहरीबाट भाग्दै आएका थिए । प्रहरीले गोयलसहित १५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शंकर अग्रवाल, राजकुमार श्रेष्ठ, आङफुर्वा शेर्पा, अर्जुन कँडेल, निरज ढकाल, डिल्लीराम बस्नेत, सत्यप्रकाश कर्ण, अरुण अग्रवाल, उदयकुमार शर्मालगायत छन् । उनीहरूले विगत लामो समयदेखि अवैध रूपमा हुन्डी कारोबारी गर्दै आएको प्रहरी दाबी छ ।
पक्राउ परेका १५ जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान विभागमा पठाइने जानकारी एसपी थापाले दिए । पछिल्लो समयमा राजधानीमा हुन्डीको कारोबार मौलाउन थालेपछि प्रहरीले निगरानी बढाएको छ ।
पक्राउमध्ये सुरेन्द्र, दिलबहादुर, शंकर, अरुण र उदयकुमार मुख्य कारोबारी हुन् । सुरन्द्रको कोठाबाट थप एक लाख भारु पनि बरामद भएको छ । उनले आवरणमा इलेक्ट्रोनिक र कपडा व्यापार गर्दै आए पनि गोप्य रूपमा हुन्डीको कारोबार गर्दै आएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
annapurnapost




















