यस्ता छन् रिंकुका सपना
वैशाख ३०, २०७३- एक महिनाअघि वीरगन्ज १ छपकैंयाकी १८ वर्षीया रिंकु ठाकुर एकाएक चर्चामा आइन् । अभिभावकले इच्छाविपरीत विवाह गर्न खोजेपछि परिवारकै विरुद्ध विद्रोह गरिन् । घर नै त्यागिन् । त्यसयता उनको चर्चा झनै चुलियो ।
उनी अब सामाजिक विकृति र कुरीतिविरुद्ध लड्न प्रहरी सेवामा प्रवेशको तयारी गरिरहेकी छन् । उनले प्रहरी सेवामा प्रवेशको तयारी गरिरहेकी हुन् ।
उनको अधिकांश समय माइती नेपाल आवधिक गृहमा प्रहरी सेवाको परीक्षाको तयारीमा बितिरहेको छ । चैत २४ यता माइती नेपालकै आवधिक गृहमा आश्रय लिएकी छन् । प्रहरी सहायक निरीक्षक (असई) बन्ने रहर पालेकी उनलाई कम्तीमा बीबीएस उत्तीर्ण गर्ने धोको छ ।
‘नेपाल प्रहरीमा आबद्ध भएर राष्ट्र र जनताको सेवा गर्ने रहर छ,’ उनले भनिन्, ‘असई बन्न कडा मेहनत गरिरहेकी छु ।’
वीरगन्ज पब्लिक कलेजमा बीबीएस पहिलो वर्षमा अध्ययनरत रिंकुलाई अभिभावकले इच्छा विपरीत भारत घोडासहनका झन्डै १० वर्ष जेठा र आफूभन्दा कम पढेलेखेका व्यक्तिसँग विवाह गरिदिन खोजेपछि रिंकुले सुरुदेखि नै विमति जनाएकी थिइन् ।
स्थानीय रेडियो तराई एफएमकी समाचारवाचिका रिंकुले वैशाख १४ गतेका लागि विवाह नै पक्का भएपछि अन्तत: विद्रोह गरिन् । प्रहरीलाई आफ्नो पीडा सुनाएर अभिभावकले तय गरिसकेको आफ्नो विवाह तोडिन् ।
अभिभावकले भारतीय ज्वाइँलाई १ लाख ३० हजार रुपैयाँ, साइकल, लत्ताकपडा आदि दाइजोमा दिने तय गरिसकेका थिए । मधेसी मूलकी यी युवतीले घरपरिवारबाट छुट्टिएर आवधिक गृहमा बस्दा पीडा भए पनि आफ्नो भविष्य सपार्न घरपरिवार र भाइबहिनीसँग टाढा भएको बताइन् ।
‘अभिभावकको बेइज्जती गर्ने वा उहाँहरूलाई दु:ख दिने मेरो नियत पनि छैन,’ उनले भनिन्, ‘तर, उहाँहरूले यति पढाइ लेखाइ सकेपछि मैरै भविष्य बर्बाद गरिदिनु पनि त भएन नि ।’
पछिल्लो समय यस भेगमै चर्चित पात्र बनेकी उनले तराईमा छोरीबेटीलाई पढाउने चलन बढे पनि विवाह तथा रोजगारीको मामिलामा हुर्किएका छोरीबेटीको इच्छा नबुझ्ने र मञ्जुरी नलिने परिपाटी कायमै रहेको बताइन् ।
‘चेलीबेटीलाई पढाइ लेखाइ गरेर इच्छाविपरीत विवाह गरेर पठाइदिने परिपाटीको अन्त्य हुनैपर्छ,’ उनले भनिन्, ‘पढेलेखेका चेलीबेटीलाई आफ्नो खुट्टामा उभिने अवसर दिनुपर्यो, इच्छाविपरीत विवाह गरिदिएर अन्जान घरपरिवारमा पठाइदिनु भएन, चेलीबेटीका पनि भावना बुझ्नुपर्छ ।’
यसरी तराईमा चेलीबेटीको जबरजस्ती विवाह गरिदिने प्रवृत्तिले कतिपय चेलीबेटीले आत्महत्यासम्म गर्ने गरेको उनले बताइन् ।
माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख संगीता पुरीले प्रहरीको आग्रहमा रिंकुलाई गृहमा आश्रय दिएको बताइन् । गृहको नियमअनुसार रिंकुलाई ३ महिनाभन्दा बढी राख्न नमिल्ने हुँदा परिवारमै पुन:स्थापना प्रयास गर्नुपर्ने उनको भनाइ छ ।



