वैशाख २, २०७३- नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले नेपालको संविधान लचक रहेकाले देखिएका समस्याहरु सम्वोधन हुदै जाने बताएका छन् । संसारको कुनै पनि संविधान जारी हुदै पूर्ण नहुने भन्दै उनले कमजोरी संसोधनबाट नै सम्वोधन हुदै जाने बताए । उनले चित्त नबुझेको विषयलाई वार्तामा बसेर समाधान गर्न सकिने बताए ।
भारतीय संविधानका प्रमुख शिल्पकार रुपमा परिचितका साथै भारत स्वतन्त्रता आन्दोलनका नेता डा. भिमराव रामजी अंवेडकरको १२५ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमा देउवाले त्यस्तो बताएका हुन । भारतको संविधान निर्माणको अवस्था र अहिलेको अवस्थाको बारेमा समेत चर्चा गर्दै उनले नेपालको संविधान आफैमा उत्कृष्ट रहेको बताए । उनले नेपालको संविधान समावेशी बनेको बताउदै भने, ‘यस्तो संविधानमा पनि केही दलहरुलाई चित्त नबुझेको अवस्था छ । तर यसलाई हामीले छलफल गरेर वार्ताबाटै समाधान गर्ने हो । आन्दोलन वा आफैले भनेको मात्र सबै ठिक भनेर पनि हुदैन । म पनि भारतको सीमा जोडिएको जिल्लाको ब्यक्ति हुँ । वार्तामा बसेर नै समस्या समाधान गर्न आवश्यक छ ।’
समस्याको समाधान आन्दोलनबाट नभै वार्ताबाट नै गर्नुपर्छ भन्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘संविधानमा सुधार हुदै जानेछ । सबैले आफ्नो आफ्नो स्थानबाट तत्परता देखाउन आवश्यक छ । नेपाली कांग्रेस यही समस्या समाधान गर्ने तर्फ उन्मुख भएर लागि परेको छ ।’ तराईका नेताहरुलाई वार्तामा आउन आह्वान समेत गरेका देउवाले अव सबै जना एक स्थानमा बसेर छलफल गरी र टुंगामेा पुर्याउन आवश्यक रहेको बताए ।
उनले भिमरावको बारेमा आफ्नो फरक धारणा राख्दै भने डा. भिम दलितको मात्र प्रेरणाको स्रोत नभई सबैको उत्तिकै प्रेणको स्रोत भएको बताए । उनलाई दक्षिण एसियामा जन्मेका विश्वकै महान ब्यक्तिको रुपमा उनलाई प्रस्तुत गरे । बीपी कोइराला नेपाल भारत फाउन्डेसन र भारतीय सांस्कृतिक केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा नृत्य र संगित प्रदर्शन भएका थियो ।
नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले पनि डा. भिमराव प्रेरणाको स्रोत रहेको बताउदै भने, ‘क्षमताको आधारमा आउनु पर्छ । त्यसको लागि शिक्षामा जोड दिन आवश्यक छ । आरक्षणबाट मात्रै सबै थोक हुदैन । त्यो अस्थायी हुन्छ । यो बुझ्न जरुरी छ ।’
भारतीय राजदूत रणजित रायले पनि रावलाई भारतमा संविधानको पिताको रुपमा सम्मान गरिने बताए । छरिएको समुदायलाई उनकै नेतृत्वमा समेटेर अघि बढ्न सक्ने संविधान जारी भएको बताउदै संविधानले सबैलाई समेट्न सक्नुपर्ने बताए । उनीबाट संविधान जारी गर्ने विषयमा सबैले शिक्षा लिन सक्नुपर्ने बताए ।
उनले नेपालको सन्दर्भमा नाम नलिइकन संविधान जारी गर्नु अघि नै राखिएका कतिपय फरक विषयमा बढी नै छलफल भएको भए अझ राम्रो हुने बताए । कार्यक्रममा नया शक्तिकी हिसिला यमीले सबैलाई समेट्न आफूहरु लागि परेकेा समेत बताइन भने अन्य वक्ताहरुले पनि अहिलेको नेपालको सान्दर्भिकता डा रावले त्यतीबेला निर्वाह गरेको भूमिकाको बारेमा जानकारी दिएका थिए । कार्यक्रम पछि देउवा, गुरुङ र राजदूतबीच केही बेर लन्च छलफल समेत भएको थियो । छलफलमा केहीबेरपछि अन्य नेता तथा सभासदहरु पनि सहभागि बने ।
ekantipur



