चैत्र २७, २०७२- सुक्खा र हावाहुरीको समयमा मुलुकभर आगलागीका घटना बढिरहेका छन्। अधिकांश घटना सर्वसाधारणको लापरबाहीबाटै हुने गरेका तथ्य सार्वजनिक भएका छन्। जनचेतनाका लागि लाखौं खर्च भए पनि परिणाम शू्न्यप्राय छ। न्यून आय भएका तराईका बासिन्दाका फुसका घर बढी मात्रामा यसको चपेटामा पर्ने गरेका छन्। चुरे वन क्षेत्रको आगलागी नियन्त्रणमा नआउँदा जंगल नजिकका गाउँ संकटमा छन्। कपिलवस्तु, ओखलढुंगा, मोरङ, उदयपुर, काभ्रे र म्याग्दीबाट कान्तिपुर संवाददाताको रिपोर्ट :
कपिलवस्तु कुशहवा १ र २ मा आगलागी हुँदा १ सय २५ घर र गोठ जलेर नष्ट भएका छन्। लेदई चमारको घर अघिल्तिर रहेको घुरानबाट सल्किएको आगो छिनमै गाउँभर फैलिएको थियो।
पश्चिमबाट हावा चल्दा पूर्वतिरका फुसका घर जलेर नष्ट भएका छन्। दिउँसो साढे दुई बजेबाट सुरु भएको आगो साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा लिएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ।
एक करोड बराबरको धनसम्पत्ति नष्ट भएको प्रारम्भिक विवरण संकलन गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक विष्णु केसीले बताए। अधिकांशका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, गरगहाना र नगद जलेर नष्ट भएका छन्। गाउँमा १ सय ४० घर थिए। तौलिहवाबाट गएको दमकल, प्रहरी र सशस्त्रले करिब ४ घण्टामा आगो नियन्त्रणमा लिएका थिए।
प्रचण्ड गर्मी बढेपछि तीव्र गतिमा चलेको तातो हावाका कारण २० मिनेटभित्रै आगो गाउँभरि फैलिएको सशस्त्रको भिल्मी बीओपी प्रमुख नायब निरीक्षक खेमराज ढकालले बताए।
आगलागीबाट ३ बाख्रा जलेर मरेका छन्। पीडितलाई नजिकका विद्यालयमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ इन्दु घिमिरेले बताइन्। शानिबार बिहान गाउँ पुगेर जिल्ला दैवीप्रकोप उद्धार समिति र रेडक्रसलगायतले राहत वितरण गर्ने उनले बताइन्। अन्य संघसंस्थालाई तत्काल राहत प्रदान गर्न आग्रह गरेको उनले बताइन्।
डढेलो गाउँ पस्दा ३ घर नष्ट
ओखलढुंगा– सिंहदेवी र रानीवन गाविसमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलो गाउँमा पसेपछि रानीवन ९ का देवबहादुर कार्कीको २ घर र एक मतान जलेर नष्ट भएका छन्। देवबहादुरकी श्रीमती तेजकुमारी आगलागीमा परेर सामान्य घाइते भएकी छन्।
रानीवनको विमिरे सामुदायिक वनबाट सुरु भएको डढेलो सिंहदेवीको बाघखोर ठूलीवन हुँदै रानीवनको भदौरे धारापानी सामुदायिक वनसम्म फैलिएको छ। दुई गाविसमा रहेका सबै वन क्षेत्र नष्ट भइसकेको स्थानीय मुना नेपालीले बताइन्। स्थानीय र प्रहरीले डढेलो नियन्त्रणको प्रयास गरे पनि निरन्तर हावा चलेका कारण सफल नभएको प्रहरी निरीक्षक दीपक साहले बताए। आगो बस्तीमा पस्ने अनुमानमाले स्थानीयवासी चिन्तित छन्।
लाखौंको क्षति
मोरङ– जिल्लाका विभिन्न स्थानमा शुक्रबार भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट भएको छ। हात्तीमुढा ९ स्थित ग्रिन प्लाइ फ्याक्ट्रीको भट्टीबाट अचानक आगो सल्किँदा काठ र प्लाइ जलेर नष्ट भएका छन्।
दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै शुक्रबार दिउँसो २ बजे सिसवनी जहदा ९ मठ्ठा टोलमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
स्थानीय सहदेव मण्डलको टिनको छानो भएको एकतले घरको चुलोबाट आगलागी भएको थियो। छिमेकीहरू रामदेश मण्डल, प्रमानन्द मण्डल र चन्द्रप्रसाद केवरथको एउटा–एउटा घरसमेत जलेर नष्ट भएको छ। आगलागीमा घर, अन्नपात, कपडा, एक तोला सुन, ७० तोला चाँदी र भाँडावर्तन जलेर नष्ट हुँदा ८ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यस्तै कटहरी ५ कदम गछियाका रामेश्वर सिंहको थ्रेसर चलिरहेको अवस्थामा निस्केको आगोको झिल्कोले थ्रेसर, पम्पसेट, गहुँ, एकतले गुहाली घर जलेर नष्ट हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनायो।
एक घर जल्यो
उदयपुर– चुरे जंगल क्षेत्रमा लागेको डढेलोले कटारी १ कालिखोलामा एक घर जलेको छ। घना बस्ती नजिकैको जंगलमा आगलागी भएको थियो।
शुक्रबार मध्याह्न यता एक्कासि हावाहुरी चल्न थालेपछि जंगलको आगो नियन्त्रणका लागि स्थानीयले प्रहरीमा खबर गरेका थिए। प्रहरी, सेना र स्थानीयको प्रयासका बाबजुद पनि स्थानीय सोमबहादुर लुगेलीमगरको घर जंगलबाट आएको आगोले जलाएको स्थानीयले बताए।
‘झन्डै महिना दिनयता जंगलमा लागेको डढेलो निभेको थिएन,’ उनले भने, ‘शुक्रबार एक्कासि जोडले हुरी चल्यो, गाउँ नै जल्ने डरले स्थानीय आतंकित भएका थिए।’ त्यसैले प्रहरी र सेनालाई गुहारेर आगो नियन्त्रण गर्ने भनेर।
मगरको घर जले पनि अन्य घर जल्नबाट जोगाइएको डीएसपी बस्नेतले बताए। करिब ४ घण्टाको प्रयासमा मगरको घरमा लागेको आगो नियन्त्रण गरिएको बस्नेतले बताए।
भूकम्पपीडितका टहरा जले
काभ्रे– आगलागीमा परी खार्पाचोक ७ का भूकम्पपीडितका ४ घर जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलो घरमा सल्किएको थियो। स्थानीयवासी ज्ञानबहादुर तामाङ, दानमान दोङ, नारायण लामा र तिलमान लामाको घर जलेको जिल्ला प्रहरीका डीएसपी नविनकुमार राईले जानकारी दिए।
सञ्चालनमा नरहेको लेकपानी जलविद्युत् आयोजनाको भवनसमेत जलेर नष्ट भएको छ। स्थानीय डोल्मा लामाका अनुसार सजीवन वनमा लागेको डढेलो बाबियोडाँडातर्फ फैलिएको छ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक यमनाथ अधिकारीले सजीवन भीरमा लागेको डढेलो अझै नियन्त्रणमा आई नसकेको बताए।
ekantipur



