फोटो :नेपाल बार एसोसियसनको अध्यक्षमा लोकतान्त्रिक समूहका शेरबहादुर केसी निर्वाचित भएपछि अभिवादन गर्दै।
यम विरही
एमाले बढारियो, माओवादी तीन पदमा विजयी
काठमाडौंः नेपाल बार एसोसियसनको अध्यक्षमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् ।
शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार केसी ३ हजार ७ सय ९८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी प्रगतिशीलका विजयकान्त मैनालीले ३ हजार ६ सय १५ मत ल्याए।
लोकतान्त्रिक समूहले अध्यक्ष, महासचिव, चार उपाध्यक्ष र कोषाध्यक्षसहित १९ पदमा जित निकाल्दै दुईतिहाई बहुमत हात पारेको हो। बारमा २५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
बारको चुनावमा एमाओवादीसहित साना दलहरुसँग गठबन्धन गरेर उठेको एमालेनिकट प्रगतिशील कानून व्यवसायीको समूह भने बढारिएको छ।
अन्तिम मत परिणाम अनुसार महासचिवमा पनि लोकतान्त्रिककै खम्बहादुर खाती बिजयी भएका छन्।खातीले ३ हजार ६ सय २४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी प्रगतिशिलका दिनमनी पोखरेलले ३ हजार ४ सय ५५ मत ल्याएका छन्।
यस्तै उषा मल्ल पाठकले ३ हजार ७ सय ५० मत ल्याएर महिला उपाध्यक्षमा विजयी भएकी हुन्। उनका प्रतिद्वन्दी शान्ता सेढाइ सापकोटा ३ हजार सय ५० मत ल्याएकी छन्।
त्यसैगरी चार उपाध्यक्षमा पनि लोकतान्त्रिकले जित निकालेको छ। पूर्वाञ्चलमा मदन खड्का, उपत्यका उपाध्यक्षमा मोतीराज गौतम, मध्यक्षमाञ्चल उपाध्यक्षमा बिनय सिंह र पश्चिाञ्चल उपाध्यक्षमा घनश्याम पन्त विजयी भएका छन्।
त्यसैगरी माओवादी निकटका तीन वकिल उपाध्यक्षमा विजयी भएका छन्। शालिकराम सापकोकटा मध्यमपश्चिमाञ्चलबाट, खिलानन्द उपाध्याय सुदूरपश्चिमबाट विजयी भएका छन्।
annapurnapost



