५ वर्षमा दुई खर्ब २५ अर्ब डलर नोक्सानी
३ चैत, काठमाडौं । सिरियाका धेरै शहरका मानिसहरु मृत्युको सदाबहार त्राशमा बाँचिरहेका छन् । त्यसो त, सिरियामा मारिएका सर्वसाधारणको सहि संख्या पत्ता लगाउनै मुस्किल छ । यद्यपि, त्यहाँ कार्यरत एक संस्थाका अनुसार मृतृकहरुको सुची यति लामो छ कि यो सुची हेर्न मात्रै १९ घन्टा भन्दा बढी लाग्छ ।
पाँच वर्षदेखि गृहयुद्धले थिल्थिलो चलिरहेको छ सिरिया । अहिलेसम्म अनुमानित साढे २ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौंले भागेर ज्यान जोगाएका छन् । अझै पनि १ करोड ८० लाख मानिस यहाँ त्रास ओढेर बाँचिरहेका छन् ।
मार्च २०११ मा बसर अल असदविरुद्ध सुरु भएको शान्तिपूर्ण संघर्षमा सुरक्षा बलले घातक बल प्रयोग गर्यो । त्यसपछिको हिंस्रक संघर्षका क्रममा सबैभन्दा रक्तपातपूर्ण अवस्था २०१२ मा आयो । त्यतिबेला मोर्टार आक्रमणमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाए । हार्दै गएको सरकारले हवाई आक्रमण सुरु गर्यो, जसमा धेरै मानिस हताहात भए । सेप्टेम्बर २०१५ बाट रुसले पनि हवाई आक्रमण थालेको छ, जसले धेरै मानिसको ज्यान गएको छ ।
यस्तो छ अहिलेको हालत
सिरियामा जसोतसो बाँचेर जीवन धानिरहेकाहरुको अवस्था कस्तो छ त ? संयुक्त राष्ट्रसंघका अनुसार गृहयुद्ध सुरु हुनुअघि सिरियाको जनसंख्या २ करोड ४५ लाख थियो । उनीहरु मध्ये ६० लाखभन्दा बढी आफ्नो घर छाडेर सुरक्षित स्थानको खोजीमा गए भने करिब एक करोड ८० लाख जनसंख्या देशभित्र छ । धेरै प्रान्तमा जनसंख्या घट्दो छ । मानिसहरु सहर छाडेर गाउँमा जान थालेका छन् ।
राजधानी दमास्कसको धेरै इलाकामा जनजीवन अन्य क्षेत्रको तुलानामा सामान्य छ । तर, अन्य भागमा भने गुजारा चलाउन मुस्किल छ । संयुक्त राष्ट्रसंघका अनुसार १ करोड ३५ लाख मानिसलाई मानवीय सहायता आवश्यक छ । तर, ४५ लाख मानिससम्म सहायता सामग्री पुर्याउन निकै मुस्किल छ किनकी उनीहरु घेराबन्दीमा परेका छन् ।
अर्थतन्त्र बर्बाद
पाँच वर्षको लडाईले सिरियाको अर्थ व्यवस्थालाई बर्बाद गरेको छ । सिरियान सेन्टर फर पोलिसी रिसर्चका अनुसार लडाईले गर्दा करिव २ खर्ब २५ अर्ब डलर कुल आर्थिक नोक्सानी भएको छ । बेरोजगारी ५० प्रतिशतभन्दा बढी भएका कारण ७० प्रतिशत बस्तीहरुमा डरलाग्दो गरीबी छ । लडाईले कृषि उत्पादन समेत नराम्ररी प्रभावित भएको छ र भोकमरी बढेको छ ।
सुरुमा सरकारले रोटीमा अनुदान दिएको थियो । तर, गहुँ उत्पादन हुने ठूलो क्षेत्र आफ्नो नियन्त्रणबाट बाहिर भएपछि गहुँ र रोटीको मूल्य पनि बढेको छ । राष्ट्रपति असदले युक्रेन र रुसबाट गहुँ आयात गरेका छन्, जसले मुल्यबृद्धि केही नियन्त्रित छ ।
सिरियामा एकसाथ धेरै मानिस घाइते र विरामी भएका कारण स्वास्थ्य सेवाको टड्कारो आवश्यकता छ । तर, लडाईमा धेरै स्वास्थ्य केन्द्रहरु नै परेका छन् । फिजिसियन्स फर हृयुमन राइट्सका अनुसार देशभरमा कम्तिमा २४० स्वास्थ्य केन्द्रमा ३३६ पटक आक्रमण भएको छ । यो आक्रमणमा ६९७ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
onlinekhabar


