फोटो :असिनाले पुरिएको गोरखाको लाप्राकस्थित भूकम्पपीडितको त्रिपाल बस्ती । तस्बिर : वीरबहादुर घलेगोरखा : शुक्रबार रातिबाट परेको असिना पानी र हिमपातले गोरखाको उत्तरी क्षेत्रका दर्जनौँ गाविसको जनजीवन कष्टकर बनेको छ ।
हिमपात र असिना पानीले भूकम्पले घरबार गुमाएर पालमुनि बसिरहेका पीडितहरुको बिचल्ली भएको छ ।
बारपाक र त्यस आसपासका क्षेत्रमा बाक्लो असिनासँगै पानी परेपछि त्रिपालमुनि बसेका भूकम्पपीडितलाई चिसोले अफ्ठेरो पारेको छ ।
त्यसैगरी लाप्राक, गुम्दा, केरौंजा, चुम्चेत र छेकाम्पर गाविसहरुमा बाक्लो हिमपात भएको छ ।

हिमपातपछि अन्न बाली राम्रो हुने आशमा कृषकहरु खुसी भएपनि भूकम्पपीडितको भने बिचल्ली भएको छ ।
असिना पानी र हिमपातले भूकम्पपीडितको त्रिपाल च्यातिदिएकाले बिजोग भएको लाप्राकका स्थानीयबासी श्रीबहादुर गुरुङले जानकारी दिए ।
त्यसैगरी बारपाकमा असिना पानीसँगै हिमपात हुँदा टेलिफोन सम्पर्क पनि टुटेको स्थानीय गीता घलेले बताइन् ।

बारपाकभन्दा माथिल्लो भेगमा टेलिफोन सम्पर्क टुटेको छ । कृषकहरुलाई भने यो हिमपातले आलु, जौ, गहुँ राम्रो फल्ने भएकाले खुसी बनाएको छ ।



annapurnapost




















