काठमाडौं, पुस २२ – सरकारले भूकम्प पीडितलाई अस्थायी आवासका लागि दिएको १५ हजार र जाडोका कपडा किन्न दिएको १० हजार रुपैयाँ दुई लाख रुपैयाँबाट नकाट्ने भएको छ ।
यसअघिको सरकारले भूकम्प पीडितलाई घर बनाउन दुई लाख रुपैयाँ दिने र अस्थायी आवासका लागि दिएको १५ हजार रुपैयाँ त्यहि दुई लाखबाट कट्टा गर्ने बताएको थियो । तर अर्थमन्त्री विष्णु पौडेलले बुधबार पत्रकार सम्मेलन गरी भूकम्प पीडितलाई घर बनाउनका लागि चोखो दुईलाख रुपैयाँ पाउने दावी गर्नुभयो ।
मन्त्री पौडेलले जाडोका कपडा किन्नका लागि भूकम्प पीडितलाई दिन ६ अर्व २ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको जानकारी दिनुभयो । मन्त्रालयले ६ अर्व निकास गरेको बताएपनि धेरै पीडितले त्यो रकम अझै पाउन सकेका छैनन । केहिले गएको अस्थायी आवासका लागि दिने भनेको १५ हजार रुपैयाँसमेत हात पारेका छैनन् ।
माघ २ गतेबाट पुनर्निर्माणको काम सुरु हुने
मन्त्री पौडेलले भूकम्प दिवसको अवसर पारेर माघ २ गतेदेख पुनर्निमाणको काम थाल्न सरकारले तयारी तीव्र पारेको जानकारी पनि दिनुभयो । ९० सालको भूकम्प गएको दिन माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउने गरिएको छ ।
भूकम्प लगत्तै भएको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा दाताहरुले प्रतिवद्धता व्यक्त गरेको ४ खर्व मध्ये ९० अर्व रुपैयाँ ल्याउनका लागि सम्झौता भइसकेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
कालोबजारी मौलाएको स्वीकार गर्दै अर्थमन्त्री पौडेलले कालोबजारी धेरै दिन नटिक्ने दावी गर्नुभयो । ‘अहिलेको कालोबजारी वर्षा याममा पलाउने च्याउ जस्तै हो’ उहाँले भन्नुभयो, ‘सरकारले यसलाई नियन्त्रण गरेर अर्थतन्त्रलाई ट्रयाकमा ल्याउँछ ।’
ujyaaloonline




















