पुस १९, २०७२- तीन दल र मधेसी मोर्चाबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिका लागि छलफल सकारात्मक रहेको भन्दै बाहिरिए ।
तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी सीमांकनका विषयमा मोर्चाको मागबारे तीन ठूला दलको अझै प्रष्ट धारणा नआउदा वार्ता ‘कर्मकाण्डी बन्न पुगेको’ आरोप लगाए ।
‘हामीले ११ बुदे मागका बारेमा उहाँहरुको प्रष्ट धारणा माग्यौं, तर आजको वार्तामा पनि उही पुरानै कुरा दोहोरियो,’ त्रिपाठीले भने, ‘यो त कर्मकान्डी भयो ।’
बैठकमा तीन दलका तर्फबाट प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा उपस्थित रहे ।
मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरबाहेक अरु अध्यक्ष काठमाडौं बाहिर भएकाले अनुपस्थित रहे । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव सहभागी थिए ।
सद्भावनाले वार्ता बहिष्कार गर्यो
सद्भावना पार्टीले आइतबारको सरकार–विपक्षी कांग्रेससँग मधेसी मोर्चाको वार्ता बहिष्कार गरेको छ । आफ्नो दलका अध्यक्ष राजेन्द्र महतोलाई पुस ११ गते विराटनगर जोगवनी सीमा नाकामा सुरक्षाकर्मीले आक्रमण गरेको विरोधमा सद्भावनाले वार्ता बहिष्कार गरेको हो । सरकारले महतो आक्रमणमा गल्ती भएको भनी माफी नमागेसम्म वार्ता प्रक्रियामा आफ्नो दल संलग्न नहुने महासचिव मनीषकुमार सुमनले कान्तिपुरलाई बताए ।
घटनापछि धरानमा उपचाररत महतो शुक्रबार थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका थिए । सोही दिन उनलाई नया दिल्ली लगिएको थियो ।
सद्भावनाले शनिबार पत्रकार सम्मेलन गर्दै छुट्टै आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको थियो । महासचिव सुमनले मधेसी मोर्चासँग आफ्नो दल रुष्ट भएको भनी सार्वजनिक समाचारहरु गलत भएको भन्दै मोर्चाकै कार्यक्रमलाई सघाउने गरी थप कार्यक्रम आएको प्रष्टीकरण दिए ।
ekantipur



