लेखा समितिमा भीआइपीको मापदण्डबारे प्रश्न
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले भीआइपीका नाममा जथाभावी रुपमा सुविधा दिइनु भ्रष्टाजारजन्य काम भएको भन्दै सुविधाको विस्तृत विरण बुझाउन सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सरकारबाट गाडीका अलावा सुरक्षाकर्मी र रकम लिनेहरुको पूरै विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो। समितिले भीआइपीका नाममा सुविधा दिइनुको औचित्य खुलाउन समेत सरकारलाई निर्देशन दिएको छ। समितिले भीआइपीको मापदण्ड के हो? भनी प्रश्न समेत उठाएको छ। गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीहरुलाई भीआइपीका नाममा दिइएको गाडीका बारेमा पत्र पठाएपछि समितिले भीआइपीको मापदण्डबारे प्रश्न गरेको हो।
बैठकमा समितिका सदस्यहरुले भीआइपीका नाममा राज्यको ढुकुटीमाथि लुट मच्चाउने काम भइरहेको भन्दै लुट रोक्नका लागि समितिले पहल गर्नुपर्ने बताएका थिए। उनीहरुले राजनीतिक नेतादेखि प्रहरी र सेनाका उच्च अधिकृतहरुले तल्लो तहका सुरक्षाकर्मीहरुलाई आफ्नो घरायसी काममा लगाउने गरेको भन्दै व्यक्तिको घरायसी काममा राज्यका सुरक्षाकर्मी खटाइनु भ्रष्टाचारकै रुप भएको बताए।
उनीहरुले नेपाली काँग्रेसका सांसद् अमरेश सिंहलाई सुविधास्वरुप स्कर्पियो जीप उपलब्ध गराइनुको कारण माग गरेका छन्। सरकारले काँग्रेस साँसद् सिंहलाई २०७१ सालको फागुन १५ गतेदेखि स्कर्पियो जीप उपलब्ध गराउँदै आएको छ।
setopati




















