कुमार लुइँटेल
फोटो :फाइल तस्बिरविराटनगरः एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशी मोर्चासँग तत्काल सहमति भएपनि नभएपनि संविधान संशोधन विधेयक पारित हुने बताएका छन् ।
उनले भने,‘अब मधेशी मोर्चासँग समझदारी हुन्छ । भएन भने आशयअनुसार संशोधन प्रस्ताव हेरेर अगाडि बढाइन्छ ।’
मोर्चासँगै आज साँझ निर्णायक वार्ता हुने बताउँदै अध्यक्ष प्रचण्डले पहिले तीन पार्टीको बैठक हुन्छ त्यसपछि मोर्चासँग निर्णाणक वार्ता गरेर सबै समस्या टुंगोमा पुर्याइने बताए ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले संशोधन प्रस्ताव पारित हुनासाथ नाकाबन्दी पनि खुल्ने बताए । उनले भने,‘संशोधन प्रस्ताव पारित हुनासाथ नाकाबन्दी खुल्छ ।’
मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव र महन्थ ठाकुर वार्तामा सकारात्मक भएको बताउँदै प्रचण्डले सीमाङ्कनको विषय तीन महिनासम्मका लागि समझदारीमै थाँति राखिने बताए । उनले भने,‘वार्ता र सहमतिबाटै समबै निकास निस्किन्छ ।’
राजेन्द्र महतोले दिल्लीबाटै अलग आन्दोलन घोषणा गरेको विषयमा सोधिएको प्रश्नमा प्रचण्डले एउटा समूह बाहिर बसे त्यसको मूल्याङ्कन मधेशी जनताले पनि गर्ने बताउँदै निहुँनै खोजेर मात्र अब नहुने बताए ।
आजको बैठकबाट सबै निकास निस्कने बताउँदै उनले विस्तारै मधेशको माग समाधानको दिशातर्फ गएको जनताले महशुस गर्ने पनि बताए ।
annapurnapost




















