पुस १९, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज आज ४ बजे तिन पार्टीको बैठक बस्ने र ५ बजे मधेसी मोर्चा सहित चार पार्टीको वार्ता हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘आज ११ बजे नै बस्ने भनेको थियो, हामी यतावाट जान ढिलो भएका कारण साँझ बस्न भएका हौं ।’ आज बिहानपनि मेरो कांग्रेस अध्यक्ष सुशीलजी, एमालेका नेता र मधेसी मोर्चाहरुका नेताहरुसँग कुरा भएको छ ।’
आज टुङगोमा पुग्ने कुरा भएको उनले बताए ।
संवाददाताहरुले राजेन्द्र महत्तो त दिल्लीमा छन् नि भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, ‘महन्थ जी, उपेन्द्र जीसँग कुरा मिलेपछि आन्दोलन सकिन्छ जस्तो लाग्छ । राजेन्द्र राजी दिल्लीमा भएर केही फरक पर्दैन भन्ने लाग्छ तर यदि कसैले निहुँ नै खोज्छन् भने मधेसका जनताले बुझ्छन् तर हामीलाई त्यस्ता अवस्था आउँछ जस्तो लाग्दैन ।’
आज सहमति भएन भने सविधानको संशोधन प्रस्ताव के हुन्छ भन्ने संवाददाताहरुको प्रश्नमा अध्यक्ष दाहालले भने, ‘सकेसम्म मधेसी दलसँग समझदारी बनाउने हो । यदि उहाँहरुसँग सहमति हुन सकेन भने उहाँहरुको आसय अनुसार प्रस्तावमा परिमार्जन गरी पारित हुन्छ । आजबाट प्रक्रिया अघि बढ्छ । सैद्धान्तिक छलफल टुङगिएपछि पनि ७२ घण्टा रहन्छ त्यसबेलासम्म प्रयास गर्छौ ।’
अध्यक्ष दाहालले मोर्चा सकारात्मक रहेकाले सहमति हुने विश्वास व्यक्त गरे । ‘इन्केस सहमति भइ हालेन भनेपनि उहाँहरुको आसय अनुसार संशोधन गरी पारित गर्छौं । संशोधन प्रस्ताव पारित भएपछि नाकाको अवरोध खुल्छ भन्ने विश्वास छ,’ उनले भने, ‘तिन महिनाका लागि राजनितिक सहमतिबाट सिमांकनको हेरफेर गर्ने भन्ने सहमति भएको छ । संशोधन प्रस्ताव पारित भएपछि नाका खुल्छ भन्ने विश्वास छ ।’
आजको वार्ता सफल हुन्छ भनेर जनताले आशा लिँदा भयो त ? भन्ने संवाददाताहरुको प्रश्नमा दाहालले भने, ‘विस्तारै विस्तारै वाता सरकारात्मक हुँदै गएका विश्वास गर्ने आधार बनेको छ ।’ संशोधन प्रस्ताव पारित भएपछि नाका खुल्छ भन्ने बुझाइ सरकारको रहेको उनले बताए ।
एमालेका वरिष्ठ नेताहरुले अहिलेको शान्ति सुरक्षा सन्तोषजनक नभएको भनी रहेका छन् नि तपाईको पार्टीबाट गृह मन्त्री हुनुहन्छ भन्ने संवाददाताहरुको प्रश्नमा अध्यक्ष दाहालले भने, ‘सन्तोष लिने अवस्था छैन चार महिनादेखि जनताले दु:ख पाइरहेका छन् जीवन समान्य सकेको छैन, हामीले शान्ति सुरक्षाको अवस्था राम्रो छ भनेका छैनौं । पहिला त आन्दोलनको समस्या राजनीतिक तवरबाट हल गर्नु पर्छ अनि सबै राम्रो हुँदै जान्छ ।’
अध्यक्ष दाहालले राजधानी बाहिर रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई जसरी पनि साँझ आउन फोनमा आग्रह गरेका थिए । ‘आज निर्णायक बनाऊँ भन्ने हो तपाई जसरी भएपनि आउनु होस्,’ फोनमा दाहालले भने, ‘अब यसलाई धेरै न लम्बयाउँ ।’ दाहाल भरखरै राजधानी फर्केका छन् ।
ekantipur





















