पुस १९, २०७२- राष्ट्रिय जनगणना २०६८ को तुलनामा भूकम्पपछि काभ्रेमा १४ हजार ४ सय १९ बढेको छ । सोही तथ्यांकको आधारमा काभ्रेमा न्यानो कपडाका लागि १० हजार वितरण भइरहेको छ । छानबिन थाल्दा वास्तविकले समेत भन्दै प्रशासनले पुरानै सूचीकाआधारमा गैरपीडितसमेतलाई वितरण गरिरहेको छ ।
जिल्लामा ८० हजार ७ सय २० धरधुरी रहेकोमा भूकम्पपछि ९५ हजार ७२ घरधुरी पुगेको छ । सरकारी तथ्यांकमा काभ्रेका ८६ हजार ९ सय २० घरधुरी पूर्ण रूपमा क्षति भएको उल्लेख छ । जिल्लाभरका गैरपीडितले कारबाही हुने भएले ५ करोड सम्बन्धित गाविस सचिवलाई फिर्ता गरेका छन् ।
‘निर्देशन पनि चाँडै वितरण गर्ने भन्ने छ, छानबिन गर्दा वास्तविकले पनि नपाउने अवस्था आयो,’ राहत वितरणमा अनियमितता छानबिन गर्न बनेको समितिका सदस्य एवं जिल्ला विकास समितिका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत सन्तोष पोखरेलले भने, ‘पुरानोलाई नै वितरण गरेर पुन: छानबिन गर्ने निर्णय भएको छ ।’ उनका अनुसार, छुट भन्दै परेको निवेदन अहिलेलाई स्थगित गरिएको छ । रविओपी गाविसमा छुटउपर निर्णय नभएसम्म वितरण गर्न नदिने बताएपछि वितरण नै प्रभावित भएको छ । उनका अनुसार, बनेपा, पनौती, धुलिखेल, दाप्चा काशीखण्ड र पाँचखाल नगरपालिकामा अधिकतम १ हजार जनासम्मले छुट भन्दै निवेदन दिएका छन् । ७५ वटा गाविसमा पनि न्यूनतम २० देखि अधिकतम १ सयसम्म निवेदन परेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिको पछिल्लो बैठकले स्थानीय राजनीतिक दल, गाविस सचिव र स्थानीय प्रहरीको सिफारिसका आधारमा मात्रै राहत वितरण गर्ने, झूटो विवरण दिने र गलत सिफारिस गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने निर्णय गरेको थियो ।
जिल्ला प्रशासनका लेखापाल भीम पोखरेलका अनुसार काभ्रेका ५९ गाविस र धुलिखेल र दाप्चा काशीखण्ड नगरपालिकामा वितरण गर्ने गरी ५५ करोड रकम निकासा भइसकेको छ । सरकारले काभ्रेका लागि पहिलो किस्ताबापत ५० करोड विनियोजन गरेको छ । गैरपीडितले फिर्ता दिएको १५ हजारमध्येबाट ५ करोड पनि न्यानो कपडाका लागि वितरण गरिएको छ । पोखरेलका अनुसार, पाँचखाल नगरपालिकाले २ करोड, धुलिखेल नगरपालिकाले २० लाख फिर्ता गरेका छन् । ‘प्राय: सबै गाविस र नगरबाट फिर्ता भएको छ,’ उनले भने, ‘काभ्रेमा अझै २५ करोड नपुग छ, माग गरी पठाएका छौं ।’
महादेवस्थानका प्रत्येक घरधुरीलाई राहतस्वरूप १५ हजार उपलब्ध गराएको घटनामा प्रधानमन्त्री कार्यलय, राष्ट्रिय सतर्कता केन्द्रले चासो लिँदै असुलउपर गराउन निर्देशन दिएको थियो । उक्त गाविस कार्यालयले १ सय ४५ जनाले फिर्ता गर्नुपर्ने भन्दै सूचना निकाले पनि अझै नबुझाएपछि पेस्की फछ्र्योट हुन सकेको छैन । तर गाविसमा वितरण भने सुरु भइसकेको छ । सबैभन्दा बढी पात्लेखेत गाविसमा घरधुरी संख्या ४५ दशमलव १६ प्रतिशतले बढेको थियो । २०६८ मा ८ सय ६ रहेको घरधुरी बढेर १ हजार १ सय ७० पुगेको छ । धेरै गाविसमा यही अनुपातमा बढेको छ । भिन्नै बसेको, आंशिक क्षतिलाई पूर्णसहितको फर्जी विवरण देखाएर घरधुरी संख्या बढाइएको हो ।
महादेवस्थानका प्रत्येक घरधुरीलाई राहतस्वरूप १५ हजार उपलब्ध गराएको घटनामा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रको चासो
ekantipur


