पुस १८, २०७२- उपप्रधान एवं महिला, बालबालिका मन्त्री सीपी मैनालीले राष्ट्रिय एकता दिवस खारेज गर्ने पुरानो निर्णयमा पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन् । उनले पुस २७ गतेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने समेत बताए ।
‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारबाट भएको दिवस खारेजीको निर्णय गलत भएको समेत बताएका थिए । पृथ्वीनारायण शाहको योगदानलाई कसैले अवमूल्यन गर्न नहुने उल्लेख गर्दै मैनालीले भने–‘क्याविनेटमा म मात्रै छैन । तर एक सदस्यका हैसियतले म यो विषय उठाउनेछु ।’
राष्ट्रिय एकता दिवस तथा २९४ औं पृथ्वी जयन्ती नागरिक मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता डा.रामशरण महतले पृथ्वीनारायण शाह एक कुशल राजनीतिज्ञ रहेको र त्यतिबेला उनले नेपाललाई दक्षिण एसियाकै शक्तिशाली बनाएको प्रसङ्ग कोट्याए । ‘हाम्रा पुर्खाले रचनात्मक भूमिका खेली योगदान पुर्याए । हामीले त्यसलाई भत्काउन दिन हुदैन’, महतको भनाइ थियो ।
महतले पृथ्वीनारायण शाह प्रजातन्त्रवादी भएको टिप्पणी समेत गरे । ‘पृथ्वीनारायणले जनताको मन र भावना बुझेर नै सबै काम गर्थे’, उनले भने । उनले राष्ट्रियता बलियो बनाउने काम राजाको भजन गाएर मात्र नहुने भएकाले इतिहासको सही मूल्यांकन गरिनुपर्ने बताएका थिए । ‘राष्ट्रियताको पक्षमा नेपाली कांग्रेस पहिलेदेखि नै उभिएको छ । राजाको भजन गाउनु मात्र राष्ट्रियता होइन’, महतले भने ।
पृथ्वीनारायण शाह अभियन्ता भरत बस्नेतले तत्कालीन कोइराला सरकारले एकता दिवस खारेजीको निर्णय गरेकाले कांग्रेसले सार्वजनिक रुपमा माफी मागी निर्णय सच्याउनुपर्ने बताए । ‘मलाई अघिल्लो प्रधानमन्त्री सुशील कोइरालाले पनि संविधान जारी भएको दिन एकता दिवसको निर्णय समेत हुने बताउनुभएको थियो । तर, त्यो दिन भएन । अब कांग्रेसले पनि पार्टीगत रुपमै उक्त गलत निर्णय सच्याओस् भन्ने हामी चाहान्छौं,’ बस्नेतले भने ।
ekantipur




















