रमेश गिरी
भक्तपुर, पुस १७ – माघे संक्रान्ती नजिकिदै गर्दा मध्यपुरथिमी नगरपालिका-१२ का व्यापारीलाई चाकु बनाउन भ्याई नभ्याई भएको छ ।
मध्यपुरथिमीमा पहिलो पटक ५० वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेशा धान्दै आउनु भएको उत्तमराज श्रेष्ठको परिवारलाई एकमहिना अघिदेखि चाकु बनाउन भ्याईनभ्याई हुन थालेको छ ।
थिमीमा चाकु उत्पादन गर्ने एकमात्र चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले वर्षदिन भरी नै चाकु बनाउने भएपनि अहिले माघे संक्रान्ती नजिकिदँै गरेको र जाडो बढेका कारण चाकुको मागलाई धान्न धौ धौ परेको छ ।
वैशाख जेठको गर्मीमा दैनिक ७ देखि १० किलो, असोज कात्तिकमा दैनिक १५ देखि २० किलो चाकु बेच्दै आउनु भएको उहाँले पुस लागेपछि भने दैनिक ५० किलो भन्दा बढी चाकु बिक्री गर्ने गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘चाकु लिनेको अहिलेदेखि नै भीड लागेको छ, माघे संक्रान्तीको दिन त तीन सयदेखि पाँचसय किलोसम्म चाँकु बिक्री हुन्छ, चाकु लिन आउनेहरु २० गतेदेखि त लाइन नै हुन्छ ।’
सख्खर, नरिवल, छोगडा, दूध, कुराउनी, र बिभिन्न मसलाहरुको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडाै, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गर्दछन् । यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन पनि टाढादेखि यहाँ चाँकु लिन आउने गर्छन् ।
गतवर्ष प्रतिकिलो तीनसय रुपैयाँमा बिक्री गरेको चाकु यसवर्ष भने ५० रुपैयाँ मूल्य बृद्धि भएको छ । ग्यासको अभावले दाउरामा चाकु उत्पादन गर्न कठिन भएपनि माग बढेसंगै उत्पादन पनि बढाउँदै गएको श्रेष्ठको भनाई छ ।
ujyaaloonline




















