काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेकाे छ ।
केन्द्रीय बैङ्कले भोलि सोमवारसम्म निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा १ अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैङ्कमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागेकाे हाे ।
बैङ्कबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने भनेकाे छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैङ्कले सूचनामार्फत आग्रह गरेको छ ।



