गोरखा । “हाम्रो पुस्तकालय: हाम्रो भविष्य” भन्ने नारासहित १८ औं पुस्तकालय दिवस आइतबार गोरखा क्याम्पसमा विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
गोरखा क्याम्पस गोरखाको पुस्तकालय व्यवस्थापन तथा विकास समितिको आयोजनामा क्याम्पसमा बृक्षारोपणसहित बिबिध कार्यक्रम गरि दिवस मनाइएको हो ।
अध्ययन र अध्यापनको गुणस्तर सुधार, पुस्तकालयको प्रभावकारी सञ्चालन तथा नयाँ पुस्तालाई पुस्तकप्रति अभिरुचि बढाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
सोही अवसरमा गोरखा क्याम्पसका पूर्व शिक्षक राजिब पन्तले क्याम्पसको पुस्तकालयका लागि १० हजार ७१८ बराबरको पुस्तकहरू क्याम्पस पुस्तकालयलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, सिताराम थपलियाको सहयोगमा क्याम्पस परिसरमा ७ वटा रत्त चन्दनका बिरुवा रोपिएको छ ।
दिवसको अवसरमा क्याम्पस परिसरमा सरसफाइ अभियान समेत सञ्चालन गरिएको क्याम्पसले जनाएको छ ।
सरसफाइ तथा बृक्षारोपण कार्यक्रम पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै क्याम्पस प्रमुख नवराज पाण्डेले पुस्तक पढ्ने संस्कृतिको विकासले मात्र पुर्णज्ञान प्राप्ती र चेतनशील समाज निर्माण हुने बताए ।
उनले पुस्तकालयलाई शैक्षिक सुधारको मेरुदण्ड भएको समेत उल्लेख गरे । क्याम्पस प्रमुख पाण्डेले पुस्तकालय दिवस जस्ता कार्यक्रमले अध्ययन संस्कृतिमा नयाँ ऊर्जा थप्ने विश्वाससमेत ब्यक्त गरे।
त्यस्तै गोरखा क्याम्पस गोरखाका स्ववियु सभापति सुलभ अम्गाइले विद्यार्थीमैत्री पुस्तकालय निर्माणका निम्ति आवस्यक पहल गर्ने बताए ।
पुस्तकालय व्यवस्थापन तथा विकास समितिका सभापति बासुबाबु खत्रीको अध्यक्षतामा भएको सहायक क्याम्पस प्रमुख, प्राध्यापक संघ सभापति, कर्मचारी संघ सभापतिलगायतको उपस्थिति रहेको थियो।


