गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पशुबस्तुको उपचारका लागि हिजाेदेखि आधारभूत प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका पशु सेवा शाखा अन्तर्गत थप सेवा सहितको आधारभूत प्रयोगशाला औपचारिक रूपमा संचालनमा ल्याइएको गाउँपालिका पशुसेवा शाखाले जनाएको हाे ।
पालिकाले गाउँमै पशु रोगको समयमै परीक्षण, उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यसहित आधुनिक सुविधा सहितको प्रयोगशालाको सञ्चालनमा ल्याएको हो ।
यस प्रयोगशालाबाट पशुवस्तुमा लाग्ने विभिन्न प्रकारका परीक्षण सेवाहरू प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
प्रयोगशालामा परजीवी (आन्तरिक तथा बाह्य) को लागि गोबर तथा रगत परीक्षण, विभिन्न पशु तथा पन्छी रोगहरूको पोस्टमार्टममार्फत परीक्षण, थुनेलो परीक्षण, पशुको पिसाब परीक्षण लगायतका आधारभूत सेवा उपलब्ध हुने जनाइएको छ ।
पशु रोग परीक्षणलाई व्यवस्थित, छरितो र वैज्ञानिक ढंगले अघि बढाउन पालिकाले प्रयोगशालाको स्थापना गरेको हो ।
प्रयोगशालाबाट हरेक हप्ता सोमबार र बिहीबार सेवा प्रदान गरिने गाउँपालिकाकाे पशु शाखाले जनाएकाे छ । यसले पशुपालन व्यवसाय गर्ने किसानलाई रोगको प्रारम्भिक चरणमै पहिचान र नियन्त्रणमा सहयोग पुर्याउने तथा समयमै उचित उपचार गर्न सहजता ल्याउने पालिकाको विश्वास छ ।
प्रयोगशालाको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले किसानलाई पशुपालनमा आउने चुनौतीलाई कम गर्दै आधुनिक प्रविधि र सेवा विस्तारमार्फत उत्पादनशीलता बढाउने पालिकाको लक्ष्य रहेको बताए ।


