गोरखा । शहिद लखन गाउँपालिकाले बुंकोट स्वास्थ्य चौकीलाइ पालिका भित्रकै उत्कृष्ट भएको घोषणा गरेको छ ।
शहिद लखन गाउँपालिका–७ को बुंकोटमा रहेको उक्त स्वास्थ्य चौकी पालिका भित्र स्वास्थ्य सेवा दिनेमा उत्कृष्ट हुन सफल भएको हो ।
आर्थिक बर्ष ०८१–०८२ मा गाउँपालिका अन्तरर्गतका स्वास्थ्य संस्थाहरुबाट प्रवाह भएको स्वास्थ्य सम्बन्धी सार्वजनिक सेवा अन्तरर्गत जनस्वास्थ्य सेवाका प्रमुख सूचकहरुको आधारमा समग्र मूल्याङ्कन गर्दा बुंकोट स्वास्थ्य चौकी प्रथम भएको पालिका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार विभिन्न १८ सूचकमा बुंकोट स्वास्थ्य चौकीले १०० अंकमा ८५.९१ अंक पाएर प्रथम भएको हो ।
प्रथम भए लगत्तै एक कार्यक्रम बिच सहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय घैरुङ्गले स्वास्थ्य चौकीलाइ सम्मान–पत्र दिएर सम्मान समेत गरेको छ ।
यसै बिच वडाध्यक्ष शरण श्रेष्ठले आफ्नो वडामा रहेको स्वास्थ्य चौकी प्रथम हुन सफल भएकोमा खुशी ब्यत्त गरे । ‘यो हाम्रो गौरब र गर्बको कुरा हो’, उनले भने ‘ बुङकोट स्वास्थ्य चौकी प्रमुख, सम्पुर्ण कर्मचारीहरु, महिला स्वास्थ्य स्वयमसेवीकाहरु, बिधालय, राजनितीक दल, आमा समुह, टोल बिकास संस्थाहरु, ब्यबस्थापन समितीका पदाधिकारीहरु, वडावासीहरु, सेवाग्राही र सम्पुर्ण गाऊपालिका परिवार प्रति हार्दिक आभार सहित धन्यबाद ब्यत्त गर्दछु ।’
आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीगरी ९ वटा रहेकोमा बक्राङ्ग स्वास्थ्य चौकीले ८२.८५ अंक ल्याएर द्वितिय र ८०.८९ अंक पाएर नामजुङ्ग स्वास्थ्य चौकी तृतिय भएको छ ।
पालिका भित्र रहेको मनकामना आधारभूत स्वास्थ्य केन्द्रले ८०.५४, ताक्लुङ्ग आधारभूत स्वास्थ्य केन्द्रले ७९.९५, बुंकोट आधारभूत स्वास्थ्य केन्द्रले ७७.८७, ताक्लुङ्ग स्वास्थ्य चौकी ७७.१७, घैरुङ्ग स्वास्थ्य चौकीले ७६.६ र मनकामना स्वास्थ्य चौकीले ७४.३७ अंक पाएको पनि स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।


