गोरखा । गोरखा सदरमुकामको छेवेटारमा रहेको निजी अस्पतालले बिना अनुमती स्वास्थ्य शिविर सञ्चालनगर्ने तयारी गरेपछी गोरखा प्रशासन कारवाहीमा उत्रिएको छ ।
जिल्ला प्रशासनले आज सरोकारवाला निकायहरुको बैठक गरेर गोरखा नगरपालिका–१० को छेवेटारमा रहेको गोरखा मेमोरियल हस्पिटल प्रालिले गर्न लागेको स्वास्थ्य शिविर सञ्चालनमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा बसेको बैठकले हस्पिटलले गर्न लागेको निशुल्क भिडियो एक्सरे र हाड जोर्नी सम्वन्धि बिरामी चेकजाँच तत्कालकोलागि रोक लगाएको हो ।
हस्पिटलका ब्यवस्थापक समेत रहेका दाउत तामाङलाई प्रशासलने बयान लिएर तारेखमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । ‘हामीले ब्यवस्थापकलाई झिकाएर बयान लिएको छौ’ उनले भने ‘अस्पताल दर्तापछी हालसम्म पनि नविकरण समेत नभएको देदिएकोले तत्कालै नविकरण गर्न भनेका छौ ।’
गोरखा मेमोरियल हस्पिटल प्रालि दर्ता भएदेखी अहिलेसम्म नविकरण भएको छैन । त्यसैले पनि हामीले उनलाई नियन्त्रणमा लिएर बयान लिएका हौ सहायक प्रजिअ बरालले बताए । अस्पतालको बारेमा आवश्यक अनुसन्धान समेत अगाडी बढाएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आज बोलाएको आकस्मिक बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिक, वडा नम्बर ५ का वडाध्यक्ष विण्णु बहादुर राना, प्रदेश गोरखा अस्पतालका मेसु डा.सिद्वार्थ खनाल, गोरखा नगरपालिकाका निश्चल अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालयका सुकमेल बराल तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।



