गोरखा । उत्तरी गोरखामा एउटै भिरबाट लडेर २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चुमनुब्री गाउँपालिका–६ सिप्चेतका बर्ष ४३ का रिन्जिन लामा र सोही स्थानका बर्ष ४१ का छिसे दोर्जे भएको प्रहरी चौकी चुम्चेतले पुष्टी गरेको हो ।
चुम्चेत प्रहरीले दिएको जानकारी अनुसार रिन्जिन लामा गएको सोमबार साँझ ७ बजे स्थानिय गोपाल लामाको घरमा बिजुलीको पैसा बुझाउन भनि हिडेपछी सम्र्पक बिहिन भएका थिए ।
बेपत्ता लामाको आफन्त, स्थानिय र प्रहरीको सहयोगमा खोजतलास गर्दा लामालाई आज बिहीबार बिहान ९ बजे गोरेटोबाट देखी १५० मिटर तल बुट्यानमा अडकिएको अवस्थामा मृत शरिर फेला परेको थियो ।
लामाको शव फेला परेको बारेमा आफन्तलाई खबर गर्न गएका स्थानिय अर्का छिसे दोर्जे समेत सोही भिरबाट खसेर १५० मिटर तल फेला परेको चुम्चेत प्रहरीले जनाएको छ । दुवै जनाको शवको दुरी २० मिटर वरपर फेला परेको थियो ।
छिसे दोर्जे भने रिन्जिन लामालाई खोजी गर्ने समूहका ब्यत्ती भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । दोर्जेको शव भने बिहीबार दिउसो १ः३० बजे फेला परेको हो ।
घटना लगत्तै सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक शरोज कार्कीको नेतृत्वमा ७ जनाको टोली बिहीबार नै घटना स्थलमा तर्फ गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताए ।
घटना स्थल चुम्चेत प्रहरी चौकीबाट ३ घण्टाको पैदल दुरीमा पर्ने प्रहरीले जानकारी दिएको छ । सदरमुकामबाट गएको टोली आज दिउसाे पुग्ने अनुमान गरिएकाे छ ।


