एजेन्सी। इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेका छन् । यसका लागि उनले लगभग ६० हजार अतिरिक्त सैनिक (रिजर्भ फोर्स) लाई ड्युटीमा बोलाउन आदेश दिएका छन् । इजरायलको रक्षा मन्त्रालयले बुधबार यो कुराको पुष्टि गरेको हाे ।
इजरायलले गाजा शहर कब्जा गर्न मोर्चामा १ लाख ३० हजार सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । सैनिकहरूलाई ड्युटीमा सामेल हुनुभन्दा कम्तिमा २ हप्ताअघि सूचना दिइने छ ।
पहिलो ब्याचमा सेप्टेम्बर २ मा लगभग ४० देखी ५० हजार सैनिकहरूलाई बोलाइने छ । दोस्रो ब्याच नोभेम्बर-डिसेम्बरमा र तेस्रो ब्याच २०२६ को फेब्रुअरी-मार्चमा बोलाइने छ ।
गाजा शहर कब्जा गर्ने अपरेशनलाई गिदोनको रथ-बी नाम दिइएको छ । यस अवधिमा पहिले नै ड्युटीमा रहेका हजारौं रिजर्भ सिपाहीहरूको सेवा ३० देखी ४० दिनले बढाइने छ ।
यस अपरेशनमा ५ वटा सेना डिभिजनहरू संलग्न हुने छन् । यसमा १२ वटा ब्रिगेड-स्तरीय टोलीहरू हुने छन्, जसमा पैदल सेना, ट्याङ्क, तोपखाना, इन्जिनियरिङ र सहयोग एकाइहरू समावेश हुने छन् । यसबाहेक, गाजा डिभिजनका उत्तर र दक्षिण ब्रिगेडहरू पनि भाग लिने छन् ।
गाजामा लगभग २ वर्ष लामो युद्ध अन्त्य गर्न नयाँ शान्ति योजनामा काम भइरहेको बेला इजरायलले हमासमाथि दबाब बढाउन यो कदम चालेको हो ।
इजरायलको उद्देश्य गाजा शहरका ती क्षेत्रहरूमा प्रवेश गर्नु हो जहाँ धेरै बन्धकहरू अझै पनि हमासद्वारा बन्धक बनाइएका छन् भन्ने विश्वास गरिन्छ । यी ती क्षेत्रहरू हुन् जहाँ इजरायली सेनाले अहिलेसम्म कुनै ठूलो मात्रामा कारबाही गरेको छैन ।
इजरायली सेनाका अनुसार यसले गाजा पट्टीको लगभग ७५ प्रतिशत नियन्त्रण गर्दछ । गाजा शहर २५ प्रतिशत क्षेत्रमा पर्छ जुन इजरायली सेनाको नियन्त्रणमा छैन ।
यद्यपि, यदि इजरायल-हमासबीच कैदीहरूको रिहाइ र युद्धविरामको लागि सम्झौता भयो भने यो योजना रद्द हुन सक्छ ।
हाल गाजामा आतंकवादी समूहहरूले ५० जना बन्धक बनाएका छन् । यी बन्धकहरूमध्ये २० जना अझै जीवित रहेको अनुमान गरिएको छ भने २८ जना मारिएका छन् ।




















