गोरखा । सन् २०२५ लाई भ्रमण बर्षको घोषणा गरेको गोरखा नगरपालिका र पोखरा महानगरपालिकाले भ्रमण बर्ष सफल बनाउन समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिकाको आयोजनामा गोरखा नगरपालिकामा आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा २ पालिका बीचको सहकार्यले भ्रमण बर्ष सफल बनाउन उर्जा थपिने विश्वास व्यक्त गरिएको हो ।
नेपालको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सुन्दरता भरिपूर्ण गोरखा नगरपालिका र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय केन्द्र पोखरा महानगरपालिका बीचको सहकार्यले भ्रमण बर्षलाई थप उचाईमा पुर्याउन मद्दत पुग्ने गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर बताए ।
उनले भने, ‘‘यो सहकार्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने, आपसी अनुभव आदान–प्रदान बढाउने मात्र नभएर सम्पूर्ण गण्डकी प्रदेशकै पर्यटन विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।’’
गोरखा भ्रमण बर्षको घोषणा गरेपछि सन २०२५ को ८ महिनामा अघिल्ला बर्षको सोही अवधीको तुलनामा जिल्लामा पर्यटकको संख्यामा बृद्धि भएको नगरप्रमुख रानामगरले जानकारी दिए ।
गोरखाको ऐतिहासिक गढीहरु, गोरखा दरबार, पुरातात्विक महत्वको सम्पदा, प्रसिद्ध धार्मिक मठमन्दिर, र धर्म, संस्कृति तथा इतिहास बोकेका सम्पदास्थललाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगिएको उनको भनाई छ ।
‘‘पोखराको प्राकृतिक सौन्दर्यता, फेवाताल, माछापुच्छ्रे हिमाल र साहसिक खेलकुदका गतिविधिहरुसँग जोडेर गोरखाको इतिहासलाई पर्यटकसम्म पुर्याउँदा दुवै नगरको पर्यटकीय महत्व अझ बढाउन सकिन्छ ।’’ नगरप्रमुख रानामगरले भने ।
कार्यक्रममा पोखरा भमण बर्ष २०२५ का संयोजक गोपीवहादुर भट्टराईले गोरखा र पोखराको सहकार्यले दुवै पालिकाको भ्रमण बर्षको प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पोखरा घुम्न पुग्ने पर्यटकलाई गोरखा भ्रमणका लागि प्रोत्साहित गर्ने र गोरखा घुम्न आउने पर्यटकलाई पोखरा भ्रमणका लागि प्रोत्साहित गर्नुपर्नेमा जोडदिए ।
त्यस्तै पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिना गोरखा र पोखरा भ्रमण वर्ष सफल बनाउन सके दुवै नगरमा रोजगारी सिर्जना, आन्तरिक आय वृद्धि गर्न सकिने उल्लेख गरे । भ्रमण वर्षमा दुवै पालिका बीच संयुक्त प्रचार–प्रसार, सांस्कृतिक आदान–प्रदानमा समेत जोड दिएको छ ।
कार्यक्रममा पर्यटन व्यवसायी रामकली खड्काले पर्यटन प्रवद्र्धनको माध्यमबाट हस्तकला, स्थानीय उत्पादनको बजार विस्तारजस्ता क्षेत्रमा प्रत्यक्ष लाभ लिन सकिने बताइन । कार्यक्रममा दुवै पालिकाका पर्यटन व्यवसायी, होटल व्यवसायीहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो ।


